नयाँ दिल्ली : भारतीय शेयर बजारमा गत साता आएको सुधारले शीर्ष १० कम्पनीमध्ये ६ वटाको संयुक्त बजार मूल्य १ लाख करोड रुपैयाँभन्दा बढीले बढेको छ। यसमा भारती एयरटेल सबैभन्दा अगाडि रहेको छ । जसको बजार पुँजीकरण ३६ हजार ५२९ करोड रुपैयाँले वृद्धि भएको छ।
साताभरको कारोबारपछि एयरटेलको कुल बजार पुँजीकरण ११.६३ लाख करोड रुपैयाँ पुगेको छ। एयरटेलसँगै बजाज फाइनान्स, आईसीआईसीआई बैंक, एचडीएफसी बैंक, भारतीय जीवन बीमा निगम (एलआईसी( र हिन्दुस्तान युनिलिभर (एचयूएल) को बजार मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। यी कम्पनीहरूको शेयर मूल्य बढेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ।
यद्यपि, सबै कम्पनीका लागि साताको कारोबार समान रूपमा सकारात्मक भने रहेन। शीर्ष १० मूल्यवान कम्पनीमध्ये रिलायन्स इन्डस्ट्रिज, लार्सन एन्ड टुब्रो (एल एन्ड टी), स्टेट बैंक अफ इन्डिया (एसबीआई) र टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) को बजार पुँजीकरणमा भने गिरावट आएको छ। यी कम्पनीहरूको शेयर मूल्य घट्दा बजार मूल्यमा पनि कमी आएको हो।
बजार पुँजीकरणका आधारमा रिलायन्स इन्डस्ट्रिज अझै पनि भारतको सबैभन्दा मूल्यवान कम्पनीका रूपमा पहिलो स्थानमा कायम रहेको छ। दोस्रो स्थानमा एचडीएफसी बैंक, तेस्रोमा भारती एयरटेल, चौथोमा आईसीआईसीआई बैंक र पाँचौँ स्थानमा स्टेट बैंक अफ इन्डिया रहेका छन्।
त्यसपछि क्रमशः टाटा कन्सल्टेन्सी सर्भिसेज, बजाज फाइनान्स, लार्सन एन्ड टुब्रो, भारतीय जीवन बीमा निगम ९एलआईसी० र हिन्दुस्तान युनिलिभर शीर्ष १० सूचीमा परेका छन्।
यस अवधिमा भारतीय शयर बजारका प्रमुख सूचकहरू पनि मजबुत देखिएका छन्। साताभरमा सेन्सेक्स ६६३.४४ अंकले उकालो लागेर ७७ हजार ७६४ विन्दुमा पुगेको छ भने निफ्टी २१४.८५ अंकले बढेर २४ हजार २७० विन्दुमा बन्द भएको छ।
शुक्रबार मात्रै सेन्सेक्स २६१ अंक र निफ्टी ९५ अंकले बढेको थियो। ठूला कम्पनीहरूमा भएको खरिद बढ्नु, लगानीकर्ताको विश्वास मजबुत हुनु तथा सकारात्मक आर्थिक संकेतहरूले बजारलाई उकालो लाग्न सहयोग पुर्याएको जनाइएको छ ।
बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) भनेको कुनै कम्पनीका सार्वजनिक रूपमा कारोबार भइरहेका कुल शेयरको वर्तमान बजार मूल्य हो। यो कम्पनीले जारी गरेका कुल शेयर संख्यालाई प्रतिशेयर बजार मूल्यसँग गुणा गरेर निर्धारण गरिन्छ। उदाहरणका लागि, कुनै कम्पनीका १ करोड शेयर बजारमा रहेका छन् र प्रतिशेयर मूल्य २० रुपैयाँ छ भने त्यस कम्पनीको बजार पुँजीकरण २० करोड रुपैयाँ हुन्छ।
बजार पुँजीकरणमा हुने वृद्धि वा गिरावटले कम्पनी र लगानीकर्ता दुवैमा प्रत्यक्ष प्रभाव पार्छ। बजार मूल्य बढ्दा कम्पनीलाई नयाँ पुँजी जुटाउन, ऋण प्राप्त गर्न तथा विस्तार योजनामा लगानी गर्न सहज हुन्छ। अर्कोतर्फ, लगानीकर्ताले धारण गरेका शेयरको मूल्य बढेकाले उनीहरूको सम्पत्तिमा वृद्धि हुन्छ।
विपरीत अवस्थामा बजार पुँजीकरण घट्दा कम्पनीको वित्तीय क्षमता कमजोर हुन सक्छ भने लगानीकर्ताले पनि आफ्नो लगानीको मूल्य घटेको अनुभव गर्नुपर्छ।