एजेन्सी : सिङ्गापुर प्रहरीले अमेरिकाको निर्यात नियन्त्रणमा रहेका एनभिडियाका अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) चिपको अवैध कारोबारसँग जोडिएको आरोपमा करिब ४२.५ मिलियन अमेरिकी डलर (५५ मिलियन सिङ्गापुर डलर) मूल्यको एक विलासी घर जफत गरेको छ।
अधिकारीहरूका अनुसार उक्त घर खरिदका लागि प्रयोग गरिएको रकममध्ये कम्तीमा दुई–तिहाइ हिस्सा अवैध आम्दानीबाट आएको आशंका गरिएको छ। अनुसन्धान जारी रहेकाले अदालतले घर बिक्री वा स्वामित्व हस्तान्तरण गर्न नपाइने आदेश जारी गरेको छ।
सिङ्गापुरको प्रतिष्ठित बोटानिक गार्डेन्स नजिकै रहेको उक्त घर देशकै सबैभन्दा महँगा आवासीय क्षेत्रमध्ये एकमा पर्दछ। यो घर अमेरिकाले निर्यात नियन्त्रणमा राखेका अत्याधुनिक एनभिडिया चिप भएका सर्भरहरूको अवैध व्यापार सम्बन्धी अनुसन्धानका क्रममा जफत गरिएको हो।
यसअघि अमेरिकी न्याय विभागले चीनतर्फ हुने अवैध चिप ढुवानी लुकाउन सिङ्गापुरलाई प्रमुख ट्रान्जिट हब का रूपमा प्रयोग गरिएको भन्दै चिन्ता व्यक्त गरेको थियो।
यस प्रकरणमा एपेरिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वेई झाओलुन माथि करिब ३८ मिलियन सिङ्गापुर डलर बराबरको आपराधिक आम्दानी प्रयोग गरी घर खरिद गरेको आरोपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरिने भएको छ। अनुसन्धानका क्रममा उनका बैंक खातामा रहेको करिब १० लाख सिङ्गापुर डलर पनि जफत गरिएको छ।
प्रहरीका अनुसार सन् २०२५ को फेब्रुअरीदेखि यस प्रकरणमा वेईसहित चार जनामाथि ठगी, सम्पत्ति शुद्धीकरण तथा अन्य सम्बन्धित कसुरमा आरोप लगाइएको छ।
उनीहरूले आफू कार्यरत कम्पनीहरूको आवश्यकता भन्दै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट सर्भर खरिद गरेको देखिए पनि ती उपकरणहरूको वास्तविक गन्तव्य र प्रयोगबारे गलत विवरण दिएको आरोप छ। यद्यपि ती सर्भरहरू अन्ततः कुन देशमा पठाइएका थिए भन्ने विषयमा अधिकारीहरूले खुलाएका छैनन्।
अनुसन्धानअनुसार ती सर्भरहरू डेल, सुपर माइक्रो कम्प्युटर र आसुसबाट खरिद गरिएको थियो। यस विषयमा प्रतिक्रिया लिन बीबीसीले सम्बन्धित कम्पनीहरूसँग सम्पर्क गरेको जनाएको छ।
यसैबीच, सिङ्गापुरस्थित Luxuriate Your Life र एपेरिया ग्रुपअन्तर्गतका अन्य तीन कम्पनीमाथि पनि मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार यस प्रकारको अनुसन्धानमा कुनै कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाइएको यो पहिलो घटना हो।
आरोप प्रमाणित भएमा अभियुक्तहरूले अधिकतम २० वर्षसम्म कैद सजाय भोग्नुपर्ने हुन सक्छ।
सिङ्गापुर प्रहरीले यस्ता अपराधप्रति आफूले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै देशलाई विश्वसनीय अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधि केन्द्रका रूपमा कायम राख्न कानुन उल्लङ्घन गर्ने कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेको छ।
अमेरिकाले सन् २०२२ देखि चीनले उन्नत एआई चिपलाई सैन्य प्रयोजनमा प्रयोग गर्न सक्ने चिन्ताका कारण एनभिडियाका अत्याधुनिक चिपहरूको निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो।
त्यसयता अमेरिका र सिङ्गापुरले यस्ता चिपहरूको अवैध ढुवानी रोक्न संयुक्त रूपमा निगरानी र कानुनी कारबाहीलाई तीव्र बनाउँदै आएका छन्। यद्यपि हालै अमेरिकाले निश्चित सर्तहरू पूरा भएमा एनभिडियाका केही सेमिकन्डक्टर चीनमा बिक्री गर्न अनुमति दिएको छ।