Below Menu
Below Menu

घरजग्गा व्यवसायलाई पछि पार्दै क्रिप्टो कारोबारबाट ट्रम्पले कमाए एक वर्षमा १ अर्ब डलरबढी 

घरजग्गा व्यवसायलाई पछि पार्दै क्रिप्टो कारोबारबाट ट्रम्पले कमाए एक वर्षमा १ अर्ब डलरबढी 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को अनिवार्य वित्तीय विवरणमा गत वर्ष क्रिप्टोकरेन्सीसम्बन्धी व्यवसायबाट मात्रै एक अर्ब अमेरिकी डलर (७५ करोड पाउन्ड)भन्दा बढी आम्दानी गरेका छन् । 

९२७ पृष्ठ लामो वित्तीय विवरणअनुसार ट्रम्पको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा क्रिप्टो कारोबारबाट आएको देखिएको हो । जसले उनको परम्परागत घरजग्गा व्यवसायलाई समेत पछि पारेको छ।

विवरणअनुसार ट्रम्पले राष्ट्रपति पद सम्हाल्नुभन्दा केही दिनअघि सार्वजनिक गरेको ट्रम्प मेम क्वाइनबाट मात्रै ६३५ मिलियन अमेरिकी डलर रोयल्टी आम्दानी गरेका छन्। यद्यपि उक्त मेम क्वाइनको मूल्य सार्वजनिक भएपछि उल्लेखनीय रूपमा घटेको छ।

यसैगरी, उनका छोराहरू तथा ट्रम्प प्रशासनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी वल्र्ड लिबर्टी फाइनान्सियलबाट पनि उनले ५०० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी भएको विवरणमा उल्लेख गरेका छन्। ट्रम्पको वार्षिक आम्दानीमा क्रिप्टो क्षेत्रको योगदान सबैभन्दा उल्लेखनीय रहेको वित्तीय प्रतिवेदनले देखाएको छ।

क्रिप्टो बाहेक ट्रम्पले आफ्नो घरजग्गा व्यवसाय, गल्फ क्लब, होटल तथा ट्रम्प ब्रान्डका विभिन्न उत्पादनहरूबाट पनि करोडौं डलर आम्दानी गरेका छन्। वित्तीय विवरणअनुसार फ्लोरिडास्थित मार-अ-लागो क्लबबाट उनले करिब ७७ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् भने डोराल गल्फ क्लबबाट १२२ मिलियन अमेरिकी डलर आम्दानी भएको उल्लेख छ। 

त्यसैगरी, न्यु जर्सीको बेडमिन्स्टर, फ्लोरिडाको जुपिटर र स्कटल्यान्डको टर्नबेरी स्थित गल्फ क्लबहरूबाट पनि प्रत्येकले ३० मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको विवरणमा उल्लेख गरिएको छ।

ट्रम्प ब्रान्डका घडी, बाइबल, जुत्ता, अत्तर तथा गिटार बिक्रीबाट मात्रै उनले ४।७ मिलियन अमेरिकी डलर रोयल्टी प्राप्त गरेका छन्। यसले ट्रम्प ब्रान्डका व्यावसायिक उत्पादनहरू अझै पनि राम्रो व्यापार गरिरहेको संकेत गर्छ।

प्रथम महिला मेलानिया ट्रम्पले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेकी छन्। उनले गत वर्ष सार्वजनिक भएको आफ्नै वृत्तचित्रसँग सम्बन्धित लाइसेन्स सम्झौताबाट १०.७ मिलियन अमेरिकी डलर आम्दानी गरेकी छन्। साथै, एनएफटी अर्थात् डिजिटल चित्रहरूको बिक्रीबाट थप ६ मिलियन अमेरिकी डलर आम्दानी गरेको विवरणमा उल्लेख छ।

वित्तीय प्रतिवेदनअनुसार ट्रम्पले विभिन्न कानुनी विवादको सम्झौताबाट पनि ८६.५ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन्। यसमध्ये एबीसी विरुद्धको मुद्दाबाट १६ मिलियन डलर, सीबीएसविरुद्धबाट १६ मिलियन डलर, मेटाबाट २४.५ मिलियन डलर, युट्युबबाट २२ मिलियन डलर तथा एक्स (पूर्व ट्विटर) बाट ८ मिलियन डलर प्राप्त भएको उल्लेख गरिएको छ।

तर ह्वाइट हाउसले ट्रम्पले राष्ट्रपतिको पदको दुरुपयोग गरेर व्यक्तिगत आर्थिक लाभ लिएको भन्ने आरोप अस्वीकार गरेको छ। ह्वाइट हाउसका अनुसार ट्रम्पका व्यवसायहरू उनका छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमार्फत सञ्चालन भइरहेका छन् र यसमा कुनै हितको द्वन्द्व छैन।

ह्वाइट हाउसकी उप(प्रेस सचिव अन्ना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकालाई ूविश्वकै क्रिप्टो राजधानीू बनाउने लक्ष्यसहित काम गरिरहेको बताएकी छन्। उनले राष्ट्रपति वा उनको परिवारले कहिल्यै हितको द्वन्द्वमा संलग्न नभएको र भविष्यमा पनि नहुने दाबी गरेकी छन्। उनका अनुसार ट्रम्प प्रशासनका सबै निर्णय अमेरिकी जनताको हितमा आधारित छन् र यसबारे उठाइएका प्रश्नहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएका हुन्।

ट्रम्प स्वयंले पनि आफू संघीय हितको द्वन्द्वसम्बन्धी कानुनको दायरामा नपर्ने बताउँदै आएका छन्। यद्यपि उनको वित्तीय विवरण सार्वजनिक भएपछि पुनः उनको व्यावसायिक हित र राष्ट्रपतिको जिम्मेवारीबीचको सम्बन्धलाई लिएर बहस सुरु भएको छ।

रोचक पक्ष के भने, कुनै समय बिटक्वाइनलाई ठगी र भविष्यमा समस्या निम्त्याउने माध्यम भनेर आलोचना गरेका ट्रम्प अहिले क्रिप्टोकरेन्सी उद्योगका प्रमुख समर्थकका रूपमा देखिएका छन्। दोस्रो कार्यकालका क्रममा उनले डिजिटल सम्पत्ति सम्बन्धी उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सारेका छन्।

ट्रम्पद्वारा नियुक्त अमेरिकी सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष पाउल एट्किन्सलाई पनि क्रिप्टो उद्योगमैत्री नियामकका रूपमा हेरिएको छ। उनले अप्रिल २०२५ मा पदभार ग्रहण गरेपछि अघिल्लो नेतृत्वको कडा नियामक नीतिलाई परिवर्तन गर्दै उद्योगमैत्री दृष्टिकोण अपनाएका छन्।

गत जुलाईमा ट्रम्पले GENIUS Act मा हस्ताक्षर गर्दै त्यसलाई कानुनमा परिणत गरेका थिए। उक्त कानुनको उद्देश्य अमेरिकालाई डिजिटल सम्पत्ति तथा क्रिप्टोकरेन्सी क्षेत्रमा विश्वकै अग्रणी राष्ट्र बनाउनु रहेको बताइएको छ।

यसैबीच, फोर्ब्सले ट्रम्पको अनुमानित कुल सम्पत्ति करिब ६ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ, जुन सन् २०२४ मा २.३ अर्ब अमेरिकी डलर थियो। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सले भने उनको सम्पत्ति ७.६ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको छ।

ट्रम्पको ९२७ पृष्ठ लामो वित्तीय विवरण हालसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले सार्वजनिक गरेको सबैभन्दा विस्तृत विवरणमध्ये एक मानिएको छ। तुलना गर्दा पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको अन्तिम पूर्ण वर्षको वित्तीय विवरण केवल ११ पृष्ठको थियो।

Advertisment

थप समाचार