Below Menu
Below Menu

ब्रिटिश अमेरिकन टोब्याकोले ९ हजार कर्मचारी कटौती गर्ने, लागत घटाउन र एआईमा जोड

ब्रिटिश अमेरिकन टोब्याकोले ९ हजार कर्मचारी कटौती गर्ने, लागत घटाउन र एआईमा जोड

नयाँ दिल्ली : विश्वका सबैभन्दा ठूला सुर्तीजन्य उत्पादन कम्पनीमध्ये ब्रिटिश अमेरिकन टोब्याको (बीएटी) ले सन् २०२६ भित्र करिब ९ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । 

लन्डन मुख्यालय रहेको कम्पनीमा हाल विश्वभर करिब ४७ हजार कर्मचारी कार्यरत छन्। कम्पनीले वर्षको अन्त्यसम्म ५ हजार ५०० पद स्थायी रूपमा हटाउने र थप ३ हजार ५०० पद बाह्य कम्पनीमार्फत सञ्चालन (आउटसोर्स) गर्ने योजना सार्वजनिक गरेको हो। यससँगै कुल करिब ९ हजार कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

कम्पनीले सञ्चालन खर्च घटाउनुका साथै कृत्रिम बुद्धिमत्ता (एआई) सहित नयाँ प्रविधिको प्रयोग बढाउनु तथा व्यवसायलाई भविष्यका चुनौतीअनुसार तयार बनाउन दीर्घकालीन ‘ट्रान्सफर्मेसन प्रोग्राम’ अन्तर्गत उक्त निर्णय गरेको हाे। 

बीएटीले सन् २०२८ को अन्त्यसम्म वार्षिक ६०० मिलियन पाउन्ड (करिब ८३ अर्ब नेपाली रुपैयाँभन्दा बढी) लागत बचत गर्ने लक्ष्य राखेको छ।

बीएटीका प्रमुख कार्यकारी अधिकृत तादेउ मारोकोले कम्पनी भविष्यका लागि अझ चुस्त, लागत–अनुशासित र प्रविधि–सक्षम संस्था निर्माण गर्ने दिशामा अघि बढिरहेको बताए। उनले पुनर्संरचनाबाट धेरै कर्मचारी प्रभावित हुने स्वीकार गर्दै संक्रमणको अवधिमा उनीहरूलाई सम्मान र आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

हाल विश्वभर परम्परागत चुरोटको खपत निरन्तर घट्दै गएको छ। यही कारण बीएटीले आफ्नो व्यवसायलाई धुम्रपानरहित निकोटिन उत्पादनतर्फ केन्द्रित गरिरहेको छ। कम्पनीले भेप, निकोटिन पाउच तथा अन्य वैकल्पिक निकोटिन उत्पादनमा लगानी तीव्र रूपमा बढाएको छ।

कम्पनीको अनुमानअनुसार सन् २०२६ मा विश्वव्यापी चुरोट उद्योगको कुल बिक्री परिमाण करिब २.५ प्रतिशतले घट्नेछ। यसको विपरीत, कम्पनीको ‘न्यू क्याटेगोरी’ अर्थात् धुम्रपानरहित उत्पादन खण्डको राजस्व भने यस वर्ष करिब १५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ।

बीएटीले विश्वप्रसिद्ध डनहिल र पिटर स्टुइभेसन्ट लगायतका चुरोट ब्रान्ड उत्पादन गर्दै आएको छ।

बीएटीले गत वर्ष विश्वव्यापी प्रविधि तथा परामर्श कम्पनी Accenture सँग साझेदारी गर्दै आफ्ना केही सञ्चालन बाह्य व्यवस्थापनमा दिने निर्णय गरेको थियो। यस सहकार्यमार्फत कम्पनीले एआईमा आधारित उन्नत समाधान तथा डिजिटल सञ्चालन प्रणाली अपनाउने जनाएको छ।

कम्पनीका अनुसार उक्त सम्झौतापछि बेलायत, पोल्याण्ड, रोमानिया, कोस्टा रिका, मेक्सिको, सिंगापुर तथा मलेसियाका केही प्रशासनिक तथा प्राविधिक जिम्मेवारीहरू एक्सेन्चरले सम्हाल्न थालेको छ।

यद्यपि कम्पनीले आफ्नो अमेरिकी सहायक कम्पनी रेनोल्ड्स अमेरिकन अन्तर्गत कार्यरत कर्मचारीको हकमा कुनै कटौती नहुने स्पष्ट गरेको छ।

बीएटीका अन्तरिम वित्त प्रमुख Javed Iqbal ले यसअघि कम्पनीको पुनर्संरचनाले व्यवसायलाई अझ डिजिटल, एआई-केन्द्रित तथा प्रतिस्पर्धी बनाउने बताएका थिए।

उत्पादन केन्द्रसमेत बन्द हुँदै

चुरोटको मागमा आएको गिरावट र केही बजारमा बढ्दो अवैध व्यापारका कारण बीएटीले आफ्नो उत्पादन संरचनामा पनि परिवर्तन गरिरहेको छ। यसै वर्ष जनवरीमा कम्पनीले दक्षिण अफ्रिकास्थित आफ्नो आठौं ठूलो चुरोट उत्पादन कारखाना बन्द गर्ने घोषणा गरेको थियो। कम्पनीका अनुसार अवैध सुर्तीजन्य व्यापारबाट बढेको प्रतिस्पर्धाका कारण उक्त निर्णय लिनुपरेको हो।

बीएटीको पुनर्संरचना योजनापछि सोमबार कम्पनीको शेयर मूल्य प्रारम्भिक कारोबारमा करिब १।४ प्रतिशतले घटेको थियो। यद्यपि यस वर्षको सुरुदेखि हालसम्म कम्पनीको शेयर मूल्य करिब ११.८ प्रतिशतले वृद्धि भएको छ।

यस निर्णयको प्रभाव प्रतिस्पर्धी कम्पनीहरूमा पनि देखिएको छ। Imperial Brands को शेयर मूल्य पनि प्रारम्भिक कारोबारमा करिब १।५ प्रतिशतले घटेको थियो।

एफटीएसई १०० बेलायतको London Stock Exchange मा सूचीकृत बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूला १०० कम्पनीको शेयर सूचकांक हो। यो भारतको सेन्सेक्स वा निफ्टी जस्तै प्रमुख शेयर सूचकांक मानिन्छ।

त्यसैगरी, आउटसोर्सिङ भन्नाले कुनै कम्पनीले आफैंले गर्ने काम वा सेवा बाह्य विशेषज्ञ कम्पनीलाई जिम्मा लगाउने प्रक्रियालाई बुझिन्छ। यसले सञ्चालन खर्च घटाउन, दक्षता बढाउन तथा एआईजस्ता आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्न सहयोग पुर्‍याउने मानिन्छ।

Advertisment

थप समाचार