एजेन्सी : विश्वव्यापी रूपमा बढ्दो भूराजनीतिक तनाव, जेट इन्धनको आपूर्तिमा आएको दबाब तथा रिफाइनरी उत्पादनमा देखिएको कमीका कारण आगामी दिनमा हवाई यात्रा उल्लेखनीय रूपमा महँगो हुन सक्ने देखिएको छ।
विश्वव्यापी परामर्शदाता संस्था म्याककिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय हवाई भाडा २५ प्रतिशतसम्म बढ्न सक्ने सम्भावना रहेको छ।
प्रतिवेदनले जेट इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेका कारण एयरलाइन्स कम्पनीहरूको सञ्चालन खर्च तीव्र रूपमा बढिरहेको जनाएको छ। हवाई सेवा सञ्चालनमा इन्धन खर्च सबैभन्दा ठूलो लागतमध्ये एक हो । जसले कुल टिकट मूल्यको करिब ३० प्रतिशत हिस्सा ओगट्ने गर्दछ।
यही कारण इन्धन मूल्यमा हुने कुनै पनि वृद्धि अन्ततः यात्रुहरूले तिर्नुपर्ने हवाई भाडामा प्रत्यक्ष रूपमा प्रभाव पर्ने देखिएको छ।
म्याककिन्सेका अनुसार जेट इन्धनको मूल्य निर्धारणमा महत्त्वपूर्ण मानिने ‘क्र्याक स्प्रेड’ आगामी वर्षहरूमा अझै बढ्ने अनुमान गरिएको छ। क्र्याक स्प्रेड भनेको कच्चा तेलको मूल्य र त्यसबाट प्रशोधित इन्धन उत्पादनहरूको मूल्यबीचको अन्तर हो।
सामान्य अवस्थामा जेट इन्धनको क्र्याक स्प्रेड प्रति ब्यारेल २० डलर वा सोभन्दा कम रहने गरेको भए पनि अहिले यो ४० देखि ५० डलरसम्म पुग्ने संकेत देखिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०२६ सम्म यसको औसत स्तर अझ उच्च रहने अनुमान गरिएको छ ।
विश्वव्यापी आपूर्ति संकटको अर्को प्रमुख कारण खाडी क्षेत्र तथा एसियाका प्रमुख इन्धन उत्पादक देशहरूमा देखिएको उत्पादन र निर्यातमा गिरावट हो। खाडी मुलुक, भारत, चीन र दक्षिण कोरिया लगायतका देशहरूले विश्व जेट इन्धन आपूर्तिको ठूलो हिस्सा ओगटेका छन्।
तर पछिल्ला महिनाहरूमा बढ्दो भूराजनीतिक अस्थिरता र आन्तरिक आवश्यकता पूरा गर्नुपर्ने दबाबका कारण यी देशहरूले इन्धन निर्यातमा आंशिक कटौती गरेका छन्। यसको असर विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको छ र बजारमा जेट इन्धनको उपलब्धता घट्दै गएको छ।
यसैबीच, विश्वका धेरै प्रमुख रिफाइनरीहरू पहिले नै पूर्ण क्षमतामा सञ्चालन भइरहेका कारण तत्काल उत्पादन बढाउने सम्भावना सीमित देखिएको छ। नयाँ उत्पादन क्षमता थप्न समय लाग्ने भएकाले अहिलेको माग पूरा गर्न विभिन्न देशहरूले आफ्ना मौज्दात भण्डारमा निर्भर हुनुपरेको छ। विश्लेषकहरूका अनुसार यही कारण इन्धन बजारमा मूल्य अस्थिरता अझै केही समय कायम रहने सम्भावना छ।
म्याककिन्सेले होर्मुज जलमार्गमध्यमार्फत हुने तेल तथा इन्धन ढुवानी सामान्य अवस्थामा फर्किएमा मूल्यमा केही राहत मिल्न सक्ने जनाएको छ। विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने यो मार्गमा हालको तनाव कम हुँदै गएमा बजारमा थप आपूर्ति पुग्न सक्छ।
तर विभिन्न देशहरूले आफ्नो रणनीतिक तेल भण्डार पुनःभर्ना गर्ने क्रम जारी रहेकाले निकट भविष्यमा जेट इन्धनको मूल्यमा ठूलो गिरावट आउने सम्भावना कम रहेको प्रतिवेदनले औंल्याएको छ।
यद्यपि पछिल्ला दिनमा कच्चा तेलको मूल्यमा केही राहत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य चार महिनाकै न्यून स्तरमा झरेको छ। पश्चिम एसियामा तनाव केही कम हुनु र होर्मुज जलमार्ग हुँदै ट्याङ्कर आवागमन क्रमशः सामान्य बन्दै जानुले तेल बजारमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।
इरानसँग सम्बन्धित तनाव चरम अवस्थामा पुगेका बेला ब्रेन्ट क्रुडको मूल्य उल्लेखनीय रूपमा बढेको थियो, तर हाल त्यो स्तरबाट उल्लेख्य रूपमा घटिसकेको छ।
यद्यपि कच्चा तेलको मूल्य घटे पनि जेट इन्धनको आपूर्ति संकट, सीमित प्रशोधन क्षमता र रणनीतिक भण्डार पुनःपूर्तिको दबाबका कारण हवाई उद्योगले तत्काल राहत पाउने सम्भावना कम देखिएको छ।
त्यसैले आगामी महिनाहरूमा अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै हवाई यात्राको लागत बढ्न सक्ने र यसको प्रत्यक्ष असर यात्रुहरूको खर्चमा पर्ने अनुमान गरिएको छ।
Advertisment