Below Menu
Below Menu

एआईमा ५० अर्ब डलर लगानी गर्दै ओरेकल, एकै वर्षमा २१ हजार कर्मचारी कटौती

एआईमा ५० अर्ब डलर लगानी गर्दै ओरेकल, एकै वर्षमा २१ हजार कर्मचारी कटौती

काठमाडौं : विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै प्रविधि (आईटी) कम्पनीहरूमा रोजगारी कटौती हुन थालेको छ । यही क्रममा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी ओरेकलले गत एक वर्षमा विश्वभरबाट करिब २१ हजार कर्मचारी कटौती गरेको जनाएको छ । 

कम्पनीको हालै सार्वजनिक वार्षिक प्रतिवेदनअनुसार ३१ मे २०२६ सम्म ओरेकलमा १ लाख ४१ हजार पूर्णकालीन कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीमा १ लाख ६२ हजार कर्मचारी थिए। कम्पनीले आफ्नो कुल कर्मचारीको करिब १३ प्रतिशत हिस्सा घटाएको देखिएको हो । 

ओरेकलले प्रतिवेदनमा एआई प्रविधिको बढ्दो प्रयोगका कारण कम्पनीभित्रका विभिन्न कार्यप्रणाली स्वचालित बन्दै गएको र यसले कर्मचारी आवश्यकतामा कमी ल्याएको उल्लेख गरेको छ। कम्पनीले आगामी दिनमा पनि एआईको प्रयोग विस्तार हुँदै जाँदा थप संरचनागत परिवर्तन र जनशक्ति व्यवस्थापन हुन सक्ने संकेत दिएको छ।

पछिल्ला केही वर्षयता विश्वका ठूला प्रविधि कम्पनीहरू एआई प्रतिस्पर्धामा तीव्र रूपमा अघि बढिरहेका छन्। नयाँ एआई मोडल, क्लाउड सेवा र डाटा सेन्टर पूर्वाधार निर्माणमा अर्बौं डलर लगानी भइरहेका बेला कम्पनीहरूले लागत नियन्त्रणका लागि कर्मचारी संख्या घटाउने रणनीति अपनाएका छन्। ओरेकलको पछिल्लो निर्णय पनि यही विश्वव्यापी प्रवृत्तिको हिस्सा मानिएको छ।

कम्पनीभित्र अप्रिल महिनामै ठूलो संख्यामा कर्मचारी कटौती भएको चर्चा चले पनि त्यसको वास्तविक परिमाण सार्वजनिक भएको थिएन। वार्षिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै करिब २१ हजार कर्मचारी प्रभावित भएको तथ्य बाहिर आएको हो।

ओरेकलका अनुसार पुनर्संरचना प्रक्रियाका कारण कम्पनीले गत आर्थिक वर्षमा १.८ अर्ब अमेरिकी डलर बराबरको अतिरिक्त खर्च बेहोरेको छ। यसमा सेवासुविधा, अवकाश प्याकेज, क्षतिपूर्ति तथा अन्य पुनर्संरचना सम्बन्धी खर्च समावेश छन्। अघिल्लो आर्थिक वर्षमा यस्तै शीर्षकमा कम्पनीको खर्च ३७४ मिलियन डलर मात्र रहेको थियो।

यद्यपि कम्पनीले पुनर्संरचनाका केही चुनौतीहरू पनि औंल्याएको छ। दक्ष जनशक्तिको अभाव, उत्पादकत्वमा सम्भावित गिरावट तथा केही क्षेत्रमा सञ्चालनगत जटिलता उत्पन्न हुन सक्ने चेतावनी कम्पनीले दिएको छ। यस्ता अवस्थाले भविष्यमा कम्पनीको आम्दानी र व्यवसायिक प्रदर्शनमा समेत असर पार्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

यसका साथै ओरेकलले आफ्नो क्लाउड कम्प्युटिङ र एआई व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको बताएको छ। कम्पनीका अनुसार विश्वभरका ग्राहकलाई अझ प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति र स्रोत व्यवस्थापनलाई सन्तुलित बनाउने उद्देश्यले विकास समूहको पुनर्संरचना गरिएको हो।

हाल ओरेकल ओपन एआई र मेटा जस्ता एआई कम्पनीहरूका लागि विशाल डाटा सेन्टर पूर्वाधार निर्माणमा सक्रिय रूपमा संलग्न छ। कम्पनीले यस वर्ष मात्र पूर्वाधार विस्तारमा कम्तीमा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ओरेकलका सहसंस्थापक तथा विश्वका धनी व्यवसायीमध्ये एक लारी एलिसन कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) समेत हुन्। उनको नेतृत्वमा कम्पनीले पछिल्ला वर्षहरूमा क्लाउड सेवा र एआई क्षेत्रमा आक्रामक विस्तार नीति अवलम्बन गर्दै आएको छ।

ओरेकल मात्र होइन, एआई प्रविधिमा ठूलो लगानी गरिरहेका अन्य प्रमुख प्रविधि कम्पनीहरूले पनि कर्मचारी संख्या घटाइरहेका छन्। गुगल, अमेजन र मेटाले सन् २०२६ मा मात्रै एआई सम्बन्धी पूर्वाधार तथा अनुसन्धानमा संयुक्त रूपमा करिब ६५० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।

विशेषगरी अमेजनले आगामी वर्ष एआई क्षेत्रमा २०० अर्ब डलर लगानी गर्ने घोषणा गर्दै विभिन्न चरणमा करिब ३० हजार कर्मचारी कटौती गर्ने जनाएको छ। कम्पनीका एक वरिष्ठ अधिकारीले गत वर्ष जारी गरेको आन्तरिक सन्देशमा एआईका कारण कम्पनीहरूले पहिलेभन्दा छिटो नवप्रवर्तन गर्न सक्ने भएकाले संस्थागत संरचना अझ चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरेका थिए।

 

Advertisment

थप समाचार