Below Menu
Below Menu

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि १४ बुँदे समझदारी, हर्मुज जलमार्ग खुला गर्ने

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि १४ बुँदे समझदारी, हर्मुज जलमार्ग खुला गर्ने

एजेन्सी : लामो समयदेखि तनाव र सैन्य भिडन्तको अवस्थाबाट गुज्रिरहेका संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौता भएको छ । पाकिस्तान र कतारको मध्यस्थतामा तयार पारिएको १४ बुँदे समझदारीपत्रमा दुवै पक्ष सहमत भएका छन्। 

उक्त सम्झौतामा इरानका राष्ट्रपति मसुद पेजेशकियानले फ्रान्सको पेरिसस्थित भर्साइल्स दरबारबाट डिजिटल माध्यममार्फत हस्ताक्षर गरेको बताइएको छ।

प्राप्त विवरणअनुसार यो प्रारम्भिक सम्झौतामा औपचारिक हस्ताक्षर आगामी जुन १९ मा स्विट्जरल्याण्डमा हुने तय गरिएको छ। सम्झौताले तत्काल युद्धविराम लागू गर्ने, हर्मुज जलमार्ग पुनः खुला गर्ने तथा आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध र क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा ६० दिनसम्म गहन वार्ता सञ्चालन गर्ने आधार तयार गरेको छ।

सम्झौताअनुसार दुवै पक्षले तत्काल सैन्य कारबाही रोक्ने, एकअर्काको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका छन्।

साथै, पूर्ण शान्ति सम्झौताका लागि आगामी ६० दिनभित्र आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा विस्तृत वार्ता सञ्चालन गरिने जनाइएको छ।

आणविक कार्यक्रमसम्बन्धी व्यवस्थाअन्तर्गत इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको छ। अत्यधिक समृद्ध युरेनियमको भण्डारण व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई पुनः प्रवेश दिने तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीलाई थप प्रभावकारी बनाउने विषयमा सहमति भएको बताइएको छ। यस विषयमा विस्तृत समझदारीका लागि आगामी ६० दिनभित्र थप वार्ता गरिनेछ।

सम्झौतामा अमेरिकाले इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्धहरू क्रमशः हटाउने तथा इरानको रोक्का राखिएको विदेशी सम्पत्तिको एक हिस्सा फुकुवा गर्ने सहमति जनाएको छ। साथै, युद्धबाट प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि करिब ३०० अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय कोष स्थापना गर्ने प्रस्ताव पनि रहेको छ।  

हर्मुज जलमार्ग खुला गर्ने निर्णयलाई विश्व ऊर्जा बजारका लागि महत्वपूर्ण मानिएको छ। पछिल्ला तनावका कारण प्रभावित बनेको तेल आपूर्ति प्रणाली पुनः सामान्य हुने अपेक्षा गरिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य स्थिर बनाउन सहयोग पुग्न सक्छ।

सम्झौतामा लेबनानमा पूर्ण युद्धविराम लागू गर्ने तथा त्यहाँ तैनाथ इजरायली सेनाको फिर्ती सम्बन्धी विषयलाई समेत रहेको छ । यद्यपि, इजरायलले उक्त व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षा आवश्यकतालाई प्राथमिकता दिँदै लेबनानबाट सेना फिर्ता नहुने संकेत दिएका छन्।

इरानले भने क्षेत्रीय शान्तिका लागि लेबनानको मुद्दा समाधान हुनु अपरिहार्य रहेको बताएको छ। तेहरानले लेबनानमा स्थायी युद्धविरामबिना दीर्घकालीन शान्ति सम्भव नहुने धारणा राख्दै आएको छ।

सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “महान् सम्झौता” भन्दै स्वागत गरेका छन्। उनले उक्त सहमतिले मध्यपूर्व क्षेत्रमा देखिएको आणविक संकट कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै, इरानले सम्झौताका प्रावधान उल्लङ्घन गरे कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएका छन्।

यद्यपी यो केवल प्रारम्भिक समझदारी मात्र हो। आगामी ६० दिनको वार्ता सफल भएमा मात्र पूर्ण शान्ति सम्झौताको मार्ग प्रशस्त हुनेछ।

Advertisment