टोकियो : जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ ले नीतिगत ब्याजदर बढाएर १ प्रतिशत पुर्याएको छ। यो सन् १९९५ यताकै उच्च स्तरको ब्याजदर हो। यसअघि बैंकको नीतिगत ब्याजदर ०.७५ प्रतिशत रहेको थियो।
मंगलबार सम्पन्न मौद्रिक नीति समितिको बैठकपछि बैंक अफ जापानले ब्याजदर वृद्धि गर्ने निर्णय सार्वजनिक गरेको हो। विश्वव्यापी रूपमा ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिका कारण जापानमा मुद्रास्फीतिको दबाब बढ्दै गएको र मूल्यवृद्धिको जोखिम नियन्त्रण गर्न आवश्यक देखिएकाले ब्याजदर बढाइएको बैंकले जनाएको छ।
हाल अमेरिका–इजरायल र इरानबीच बढ्दो तनाव तथा युद्धजन्य परिस्थितिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य उल्लेखनीय रूपमा बढेको छ। ऊर्जा आयातमा अत्यधिक निर्भर जापानजस्ता देशहरूमा यसको प्रत्यक्ष असर परेको छ। बढ्दो ऊर्जा लागतले उत्पादन खर्च र उपभोक्ताको दैनिक जीवनयापन खर्च दुवै बढाएको छ।
जापानले सन् १९९० को दशकमा घरजग्गा तथा शेयर बजारमा आएको ठूलो गिरावटपछि अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदरलाई लगातार घटाउँदै लगेको थियो। त्यसपछिका दुई दशकभन्दा बढी समयसम्म देशले मूल्य गिरावट (डिफ्लेसन) र सुस्त आर्थिक वृद्धिको समस्या भोग्यो। यही कारण बैंक अफ जापानले लामो समयसम्म ब्याजदरलाई शून्य नजिक राखेको थियो।
मार्च २०२४ मा बैंक अफ जापानले १७ वर्षपछि पहिलो पटक ब्याजदर बढाएको थियो। त्यसयता बैंकले क्रमिक रूपमा मौद्रिक नीतिलाई कडा बनाउँदै ब्याजदर वृद्धि गरिरहेको छ।
जापान मामिलाका अर्थशास्त्री जेस्पर कोलका अनुसार देश अहिले दुई दशक लामो डिफ्लेसनको अवस्थाबाट बाहिर निस्किएर मुद्रास्फीतिको नयाँ चरणमा प्रवेश गरिरहेको छ। उनका अनुसार विगतमा अपनाइएका आपतकालीन तथा संकट व्यवस्थापनका लागि बनाइएका मौद्रिक नीतिहरू अब आवश्यक नरहेकाले बैंक अफ जापान सामान्य मौद्रिक नीतितर्फ फर्किन चाहिरहेको छ।
सरकारी तथ्यांकअनुसार मे महिनामा जापानको थोक मूल्य सूचकांक अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतभन्दा बढीले बढेको छ । जुन पछिल्ला तीन वर्षकै उच्च वृद्धि हो। यद्यपि अप्रिल महिनामा उपभोक्ता मुद्रास्फीति दर १.४ प्रतिशत मात्रै रहेको थियो, जुन बैंक अफ जापानको २ प्रतिशतको लक्ष्यभन्दा तल छ।
तर केन्द्रीय बैंकले मध्यम तथा दीर्घकालीन मुद्रास्फीति अपेक्षा निरन्तर बढिरहेको भन्दै भविष्यमा मुद्रास्फीति लक्ष्यभन्दा माथि पुग्न सक्ने जोखिम रहेको चेतावनी दिएको छ।
बैंकले जारी गरेको वक्तव्यमा इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण जापानी अर्थतन्त्रमा तत्काल गम्भीर असर पर्ने सम्भावना कम रहेको उल्लेख गरिएको छ। साथै, इन्धन मूल्यवृद्धिको प्रभाव कम गर्न सरकारले लागू गरेका राहत कार्यक्रमहरूले उपभोक्तालाई केही राहत प्रदान गरेको बैंकको भनाइ छ।
यसबीच बैंक अफ जापानका गभर्नर काजुओ उएदा संक्रमित लिभर सिस्टको उपचारका लागि अस्पतालमा रहेकाले यसपटकको बैठकमा सहभागी हुन सकेनन्। यद्यपि उनले पछिल्ला महिनाहरूमा मूल्यवृद्धिको जोखिम बढ्दै गएको अवस्थामा ब्याजदर वृद्धि आवश्यक हुन सक्ने संकेत दिएका थिए।
प्रधानमन्त्री साने ताकाइची सरकारी खर्च विस्तार गर्ने नीतिको पक्षमा रहने नेताका रूपमा परिचित छिन्। विगतमा उनले ब्याजदर वृद्धि गर्ने विचारप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।
तर बढ्दो मुद्रास्फीति नियन्त्रण गर्नुपर्ने दबाबका कारण उनले पछिल्लो समय बैंक अफ जापानको निर्णयको सार्वजनिक आलोचना गरेकी छैनन्। उनको कार्यकालमा भएको यो दोस्रो ब्याजदर वृद्धि हो।
Advertisment