Below Menu
Below Menu

एक महिनामै १० हजार ग्राहक थपिँदा वल्र्डलिंकको दबदबा कायमै, डिसहोमको बजार खुम्चियो

एक महिनामै १० हजार ग्राहक थपिँदा वल्र्डलिंकको दबदबा कायमै, डिसहोमको बजार खुम्चियो

काठमाडौं : नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक महिनाको अवधिमा १० हजार ८४८ नयाँ ग्राहक थपिएका छन्। 

गत चैत मसान्तसम्म ३४ लाख ७७ हजार १२४ रहेको कुल इन्टरनेट ग्राहक संख्या वैशाख मसान्तसम्म आइपुग्दा ३४ लाख ८७ हजार ९७२ पुगेको छ।

प्राधिकरणको तथ्यांकले नेपालको ब्रोडब्यान्ड इन्टरनेट बजारमा निजी तथा सरकारी सेवा प्रदायकबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको देखाएको छ। बजार हिस्साका आधारमा वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो अग्रता कायम राखेको छ।

बैशाख मसान्तसम्म कम्पनीका ग्राहक संख्या १० लाख ७८ हजार ७०९ पुगेका छन् । जुन चैत मसान्तको १० लाख ७३ हजार ९०३ को तुलनामा उल्लेख्य वृद्धि हो। यससँगै वल्र्डलिंकले कुल बजारको करिब ३१ प्रतिशत हिस्सा ओगटेको छ।

सरकारी सेवा प्रदायक नेपाल टेलिकमले पनि ग्राहक संख्या बढाउन सफल भएको छ। चैतमा ३ लाख ८१ हजार ७२ ग्राहक रहेको टेलिकमको फाइबर इन्टरनेट सेवा प्रयोगकर्ता संख्या वैशाखसम्म बढेर ३ लाख ८३ हजार १०१ पुगेको छ।  

त्यस्तै निजी क्षेत्रको अर्को प्रमुख सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले पनि ग्राहक संख्या र बजार हिस्सा दुवै बढाएको छ। चैत मसान्तसम्म ३ लाख ५७ हजार ७७१ ग्राहक रहेको भायानेटका ग्राहक संख्या वैशाखसम्म ३ लाख ६३ हजार ३७ पुगेका छन्। ग्राहक वृद्धिसँगै कम्पनीले ब्रोडब्यान्ड बजारमा आफ्नो चौथो स्थान सुरक्षित राख्न सफल भएको छ।

यता डिसहोम फाइबर इन्टरनेट भने ग्राहक संख्या घट्ने प्रमुख कम्पनी बनेको छ। चैतमा ३ लाख ७४ हजार ३१९ ग्राहक रहेको कम्पनीको संख्या वैशाखसम्म घटेर ३ लाख ६९ हजार २१८ मा झरेको छ। ग्राहक संख्या घटेसँगै कम्पनीको बजार हिस्सा पनि घटेको छ । बढ्दो प्रतिस्पर्धा र सेवा विस्तारको दौडबीच डिसहोमलाई ग्राहक जोगाउन सकस परेको देखिएको छ । 

अन्य सेवा प्रदायकहरूमा क्लासिक टेकले पनि ग्राहक संख्या वृद्धि गरेको छ। चैतमा २ लाख ८४ हजार २१ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या वैशाखसम्म बढेर २ लाख ८६ हजार ९५३ पुगेका छन्। कम्पनीले कुल बजारको ८.२३ प्रतिशत हिस्सा ओगटेको छ।

सुबिसु केबल नेटले पनि ग्राहक संख्या बढाउन सफल भएको छ। चैतमा २ लाख ६२ हजार ८४९ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या वैशाखसम्म २ लाख ६४ हजार ८४९ पुगेका छन्।  

उता सीजी कम्युनिकेसनले पनि ग्राहक संख्या विस्तारको गति कायम राखेको छ। चैत मसान्तमा ८८ हजार ७३८ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या वैशाखसम्म बढेर ९० हजार २०६ पुगेका छन्। ग्राहक वृद्धिसँगै कम्पनीको बजार हिस्सा पनि क्रमशः बढ्दो अवस्थामा रहेको छ।

अन्य सेवा प्रदायकहरूमा वेबसर्फर नेपालका १ लाख ७३ हजार ४६२ ग्राहक रहेका छन् भने टेकमाइन्ड नेटवर्कका १ लाख १७ हजार ७८ र वाइफाई नेपालका १ लाख ११ हजार ४६४ ग्राहक रहेका छन्।  

खासगरी नेपालमा डिजिटल सेवाको प्रयोग बढ्दै जाँदा इन्टरनेट ग्राहक संख्या निरन्तर उकालो लागिरहेको छ। यसका सथौ घरघरमा फाइबर इन्टरनेट विस्तार, अनलाइन शिक्षा, व्यापार र मनोरञ्जनप्रतिको बढ्दो आकर्षणका कारण पनि इन्टरनेटका ग्राहक थपिदै गएका हुन् । 

 

Advertisment