काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत नेपाली विद्यार्थीका लागि भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको व्यवस्थापनलाई सहज बनाउन विदेशी मुद्रा सटहीसम्बन्धी प्रावधानमा थप लचकता अपनाएको छ।
केन्द्रीय बैंकले एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले विद्यार्थीको खाता नाममा राष्ट्र बैंकले तोकेको परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेको आफ्नो स्थानीय मुद्रामा निश्चित रकम देखाउनु पर्ने प्रावधान रहेको पुष्टि हुने कागजातको आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउन सकिने भएको छ ।
यसरी सटही उपलब्ध गराउँदा विनिमय दरको उतारचढावको कारण लाग्ने थप खर्च रकमको यकिन हुन नसक्ने अवस्थामा पठाउनुपर्ने रकमको बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
यस एकीकृत परिपत्र–२०८२ बमोजिम पेश गर्नुपर्ने कागजात सक्कलै हुनुपर्ने उल्लेख भएतापनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ वा उक्त ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको कागजातलाई वैध मानिने भएको छ।
Advertisment