Below Menu
Below Menu

स्वास्थ्य क्षेत्रमा ‘नीतिगत फड्को’मार्ने बजेटको लक्ष्य: ३ वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याइने

स्वास्थ्य क्षेत्रमा ‘नीतिगत फड्को’मार्ने बजेटको लक्ष्य: ३ वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याइने

काठमाडौं :  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा नतिगत फड्को मार्ने लक्ष्य लिएको बताएका छन् । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने बताए । 

उनले भने, ‘छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौँ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौँ।’

दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम विन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएको उनले बताए । 

सरकारले निःशुल्क उपलब्ध गराउनेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने बजेटमा उल्लेख छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थीसमेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउने उनले बताए । 

सार्वजनिक–सार्वजनिक साझेदारी मोडेल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिने बजेटमा उल्लेख छ । 

उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्ने बताए । राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गरिने बताए । 
 

Advertisment

थप समाचार