Below Menu
Below Menu

अन्डाको मूल्यमा फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि  

अन्डाको मूल्यमा फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि  

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले फेरि अन्डाको मूल्य बढाएको छ । संघको सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकले अन्डा उत्पादक किसानहरूको राय, परामर्श र सिफारिसका आधारमा मंगलबारदेखि लागू हुने गरी नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो ।

संघले चितवनलाई आधार मानेर नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ दरअनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ कायम गरिएको छ । यसअघि ४ जेठदेखि लागू भएको मूल्य ५ सय ३० रुपैयाँ थियो । 

त्यसैगरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि ५ सय १५ रुपैयाँ थियो । मिडियम अन्डाको मूल्य ४ सय ८५ रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ पुर्याइएको छ ।

संघका अनुसार सानो अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ कायम गरिएको छ । यद्यपि उपभोक्ताका लागि खुद्रा मूल्य भने प्रतिगोटा २५ रुपैयाँमै यथावत राखिएको जनाइएको छ ।

संघले उत्पादन लागत बढ्दै गएको, बजारमा माग उच्च रहेको तथा अन्डा उत्पादन घटेकाले मूल्य समायोजन गर्नुपरेको उल्लेख गरेको छ ।

पछिल्लो समय बर्डफ्लु संक्रमणका कारण विभिन्न जिल्लामा ठूलो संख्यामा कुखुरा नष्ट गरिएको थियो । त्यसको प्रत्यक्ष असर अन्डा उत्पादनमा परेको उल्लेख छ । पछिल्ला केही सातायता संघले सातापिच्छे अन्डाको मूल्य वृद्धि गर्दै आएको छ । 

Advertisment

थप समाचार