काठमाडौं : सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए।
प्रशासन सेवाका सहसचिव डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मा कार्यरत थिए। सरकारले यसअघि अर्को व्यवस्था नभएसम्मका लागि उनलाई क्यानको महानिर्देशकको जिम्मेवारीसमेत दिएको थियो।
महानिर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न मन्त्रालयले वैशाख २८ र २९ गते परीक्षा सञ्चालन गरेको थियो। उक्त पदका लागि २१ जनाको आवेदन परेको थियो।
करिब तीन महिनापछि क्यानले पाँच वर्षे कार्यकालका लागि पूर्णकालीन महानिर्देशक पाएको हो। यसअघि क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दा दर्ता भएपछि २०८२ मंसिर १७ गतेदेखि निलम्बनमा परेका थिए।
Advertisment