Below Menu
Below Menu

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

काठमाडौं : नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता २०२६ झापामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको पाथिभरा कुलिनरी आर्ट कलेजमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्ने विश्वास व्यक्त गरे ।

उनले नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए । “विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्ताका शेफलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष अधिकारीले भने ।

कार्यक्रममा खुला पाककला प्रतियोगिता, विभिन्न खाद्य प्रतिस्पर्धा तथा खाद्य महोत्सव आयोजना गरिनेछ । ५० भन्दा बढी स्टल रहने महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफ निर्णायकका रूपमा सहभागी हुनेछन् । उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन र अनुभव आदानप्रदानको अवसर मिल्ने विश्वास आयोजकको छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धकले शेफहरू विश्वव्यापी जनशक्ति भएको उल्लेख गर्दै उनीहरूले स्थानीय तहसम्म सहकार्य र योगदान पुर्‍याउने बताए ।

“शेफहरू विश्वव्यापी जनशक्ति हुन् । उनीहरूले स्थानीय स्तरमा समेत सहकार्य गर्दै समाज र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्,” उनले भने । थापालियाले पाककलालाई राजधानीबाहिर विस्तार गर्नु साहसिक कदम भएको उल्लेख गर्दै थपे, “पाककलालाई राजधानी बाहिर लैजानु ठूलो हिम्मतको काम हो । यसले स्थानीय पर्यटन, उत्पादन र संस्कृतिलाई थप प्रवर्द्धन गर्नेछ,” उनले भने । उनले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न शेफहरूले साँचो सांस्कृतिक दूतको भूमिका निर्वाह गरिरहेको समेत बताए ।

प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्ने जनाइएको छ ।

प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कारस्वरूप एक लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । आयोजकका अनुसार कार्यक्रमले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Advertisment

थप समाचार