काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुले ३८ अर्ब बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म बैंकहरुले ३८ अर्ब एक करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । गत वर्षको माघ मसान्तसम्म बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा आइपुग्दा १० बैंकहरुको नाफा बढेको छ भने १० वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा ३२९.८६ प्रतिशतले बढेको हो । माघ मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको नाफा ८४.७३ प्रतिशतले घटेको छ ।
नबिल बैंकको नाफा पाँच अर्बमाथि
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको माघ मसान्तसम्म बैंकले ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै ग्लोबल आईएमई चार अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ने नेपाल बैंकले एक अर्ब ८५ करोड ८५ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ८८ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले दुई अबै १९ करोड ५० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म हिमालयन बैंकले एक अर्ब ३९ करोड ६३ लाख, नेपाल एसबीआई बैंकले एक अर्ब २० करोड ७६ लाख रुपैयाँ र एभरेष्ट बैंकले दुई अर्ब ५० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी माछापुच्छ्रे बैंकले एक अर्ब २४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले तीन अर्ब १७ करोड ५१ लाख रुपैयाँ र सिद्धार्थ बैंकले एक अर्ब ७० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म प्राइम कमर्सियल बैंकले दुई अर्ब ३९ करोड ६३ लाख, एनएमबी बैंकले दुई अर्ब १३ करोड १० लाख, प्रभु बैंकले एक अर्ब ३६ करोड ३९ लाख र सानिमा बैंकले एक अर्ब ७३ करोड २५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
चार बैंकको नाफा करोडमा खुम्चियो
चालु आवको सात महिनामा आइपुग्दा चार बैंकहरुको नाफा भने एक अर्बभन्दा कम रहेको छ । यस अवधिमा एनआईसी एशियाले ४४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइज बैंकले २४ करोड २७ लाख, कृषि विकास बैंकले ८५ करोड ९९ लाख र सिटिजन्स इन्टरनेशनल बैंकले ५७ करोड ६९ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

संकट चिर्दै सुधारोन्मुख तर्फ वित्तीय क्षेत्र
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढिरहेको छ । बजारमा मागको संकुचनले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरु अधिक तरलताको समस्या भोगिरहेका छन् ।
एकातिर कर्जाको माग नबढ्नु र अर्कोतर्फ लगानीको रकम समयमा नउठ्दा बैंक तथा वित्तीय संस्थाहरु थप ग्रसित बनेका छन् । यद्यपी तरलताको चाप र बढ्दो खराब कर्जाको चपेटाकाबीच पनि बैंक तथा वित्तीय संस्थाको नाफा सुधारोन्मुख देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको बैंक तथा वित्तीय संस्थाले ४२ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६.९५ प्रतिशत अर्थात २ अर्ब ७६ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ३९ अर्ब ७९ करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ३८ अर्ब एक करोड ७० लाख, विकास बैंकहरुको नाफा चार अर्ब १० करोड १० लाख र फाइनान्सहरुको नाफा ४४ करोड २० लाख रुपैयाँ रहेको छ ।
Advertisment