काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार मुलुकको समग्र आर्थिक सूचकहरूमा सुधार देखिए पनि वैदेशिक व्यापार घाटा अझै उच्च रहेको छ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत थियो।
चालु आर्थिक वर्षको सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.८६ प्रतिशतभन्दा कम हो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशतले बढेको छ भने घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशत र फलफूलको मूल्य ७.४१ प्रतिशतले वृद्धि भएको छ। दाल तथा गेडागुडी ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ २.९७ प्रतिशत र मरमसलाको मूल्य २.६१ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य २१.९८ प्रतिशतले बढेको छ। त्यस्तै शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत तथा मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको छ। सञ्चार उप–समूहको मूल्य भने ०.०८ प्रतिशतले घटेको छ।
क्षेत्रगत रूपमा यस अवधिमा ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.५१ प्रतिशतले वृद्धि भएको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा उच्च ५.१४ प्रतिशत मुद्रास्फीति रहेको छ भने कोशी प्रदेशमा ३.५३ प्रतिशत, बागमती प्रदेशमा ३.१० प्रतिशत, गण्डकी प्रदेशमा २.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा ३.२९ प्रतिशत, कर्णाली प्रदेशमा १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६४ प्रतिशत रहेको छ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ३.४८ प्रतिशत, तराईमा ३.६६ प्रतिशत, पहाडमा २.६८ प्रतिशत र हिमालमा २.५८ प्रतिशत रहेको छ।
थोक बजारतर्फ हेर्दा २०८२ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ३.४७ प्रतिशत थियो। समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ०.७२ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत र ३.२१ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेको छ।
अन्तर्राष्ट्रिय तुलना गर्दा नेपालमा मुद्रास्फीति भारतभन्दा केही बढी देखिएको छ। २०८२ माघ महिनामा नेपालको वार्षिक मुद्रास्फीति ३.२५ प्रतिशत रहँदा सन् २०२६ जनवरीमा भारतमा यस्तो मुद्रास्फीति २.७५ प्रतिशत रहेको थियो।
वैदेशिक व्यापारमा निर्यात वृद्धि, तर घाटा उच्च
चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १६८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फ निर्यात ४०.३ प्रतिशत र अन्य मुलुकतर्फ ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ निर्यात ५५.३ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान तथा जुत्ता–चप्पलको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामानको निर्यात घटेको छ।
यस अवधिमा कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई ११ खर्ब २३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। मुलुकगत आधारमा भारतबाट आयात ५.५ प्रतिशत, चीनबाट २२.३ प्रतिशत तथा अन्य मुलुकबाट २९.५ प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, सवारी साधन तथा स्पेयर पार्टस् र सुनको आयात बढेको छ भने हट रोल्ड शिट, खाने तेल, दाल तथा फलामजन्य सामग्रीको आयात घटेको छ।
निर्यातभन्दा आयात धेरै भएकाले सात महिनामा कुल व्यापार घाटा १०.९ प्रतिशतले बढेर ९५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निर्यात–आयात अनुपात १५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १२.९ प्रतिशत थियो।
समीक्षा अवधिमा खुद सेवा आय ५० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३६ अर्ब १७ करोड थियो। सेवा खाताअन्तर्गत भ्रमण आय २.६ प्रतिशतले घटेर ४७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने भ्रमण व्यय ५.१ प्रतिशतले बढेर १२१ अर्ब २७ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय मात्रै ७७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ।
रेमिट्यान्समा उल्लेख्य वृद्धि
वैदेशिक रोजगारीबाट आउने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ७.५ प्रतिशत मात्र थियो।
माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ।
चालु खाता र शोधनान्तर स्थिति बचतमा
सात महिनाको समीक्षा अवधिमा चालु खाता ४९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १८४ अर्ब १४ करोड रुपैयाँ बचतमा रहेको थियो। अमेरिकी डलरमा चालु खाता ३ अर्ब ४७ करोडले बचतमा रहेको छ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। त्यस्तै १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ।
शोधनान्तर स्थिति पनि सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ५७२ अर्ब ७३ करोड रुपैयाँ बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २८४ अर्ब ४१ करोड थियो।
विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो
विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति माघ मसान्तमा २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २२ अर्ब ७६ करोड पुगेको छ। यस्तो सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
सरकारी कुल खर्च ८०१ अर्ब
नेपाल सरकारका अनुसार चालु आर्थिक वर्षको सात महिनामा सरकारको कुल खर्च ८०१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये चालु खर्च ५६२ अर्ब ३७ करोड, पुँजीगत खर्च ६३ अर्ब ७३ करोड र वित्तीय व्यवस्था खर्च १७५ अर्ब २७ करोड रहेको छ।
समीक्षा अवधिमा कुल राजस्व परिचालन ६६५ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यसमध्ये कर राजस्व ५९९ अर्ब ३१ करोड र गैरकर राजस्व ६५ अर्ब ७१ करोड रहेको छ।
माघ मसान्तमा सरकारका विभिन्न खातामा ३७३ अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
बैंकिङ क्षेत्र र कर्जा विस्तार
बैंकिङ प्रणालीमा निक्षेप बढेको छ। सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६ प्रतिशत अर्थात् ४३३ अर्ब ७१ करोडले वृद्धि भई ७६ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत रहेको छ।
यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशत अर्थात् २२१ अर्ब ८४ करोडले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा कर्जा वृद्धिदर ६.८ प्रतिशत रहेको छ।
डिजिटल कारोबार र पुँजी बजार
विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा बढिरहेको छ। माघ महिनामा डेबिट कार्डमार्फत ९८ लाख कारोबारबाट ७५ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मोबाइल बैंकिङमार्फत ६ करोड ७३ लाख कारोबारबाट ५५८ अर्ब ५० करोड रुपैयाँ र क्यु-आर कोड भुक्तानीमार्फत ४ करोड ६२ लाख कारोबारबाट १२५ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
पुँजी बजारतर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ माघ मसान्तमा नेप्से सूचकाङ्क २६७१.०७ बिन्दुमा कायम भएको छ, जुन अघिल्लो वर्ष २६८५.७३ थियो। धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २८४ पुगेको छ। तीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन्।
समीक्षा अवधिमा ५० अर्ब ९४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ भने नेपाल धितोपत्र बोर्डले २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
समग्रमा राष्ट्र बैंकको प्रतिवेदनले रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र चालु खातामा सुधार देखिए पनि व्यापार घाटा र सेवा क्षेत्रको घाटा भने अझै चुनौतीका रूपमा रहेको देखाएको छ।
Advertisment