काठमाडौं : कृषि विकास बैंक लिमिटेडले आफ्नो बजेट योजना तथा व्यवस्थापन प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र स्वचालित बनाउन बजेट ३६० नामक ‘बजेट म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम’ कार्यान्वयन गर्ने भएको छ।
यो प्रणाली नेपालकै अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सद्वारा विकास गरिएको हो। उक्त प्रणाली कार्यान्वयनका लागि एक समारोहबीच बैंक र इन्फोडेभलपर्स बीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
बजेट ३६० प्रणालीले स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ तथा ड्यासबोर्डमार्फत कार्यसम्पादन अनुगमन गर्ने सुविधा प्रदान गर्दछ। साथै, यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टमसँग सहज रूपमा इन्ट्रिगेट गर्न सकिने भएकाले बैंकको कार्यप्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा कम्पनीले गरेको छ।
बैंकका अनुसार, यस प्रणालीको प्रयोगले बजेट योजना, स्रोत व्यवस्थापन तथा निर्णय प्रक्रियालाई थप सुदृढ बनाउनेछ। त्यसैगरी इन्फोडेभलपर्सका प्रतिनिधिहरूले बजेट ३६०ले बजेट व्यवस्थापन प्रक्रियालाई सरल र व्यवस्थित बनाउँदै बैंकलाई तथ्यमा आधारित निर्णय लिन सहयोग गर्ने बताएका छन्।
इन्फोडेभलपर्सले यसअघि राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक तथा कुमारी बैंक लिमिटेडमा बजेट ३६० सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ।
Advertisment