काठमाडौं : २८औँ स्थापना दिवसको अवसरमा हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरले सामुदायिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत युवा खेलाडी तथा खेलकुद प्रवद्र्धनका लागि सहयोग प्रदान गरेको छ।
महाँकाल सामाजिक स्पोर्ट क्लबले फागुन २६ गतेदेखि २९ गतेसम्म महाँकाल गाउँपालिका वडा नं. ४ कालेश्वरमा आयोजना गर्न लागेको ‘बागमती प्रदेश स्तरीय अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिता’का आयोजक टिमका खेलाडी, स्वयंसेवक, रेफ्री तथा व्यवस्थापनमा सहभागीहरूलाई संस्थाको तर्फबाट सहयोग हस्तान्तरण गरेको हो ।
संस्थाका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष कञ्चन बस्नेतले क्लबका अध्यक्ष डम्बर स्याङ्तान र कार्यक्रम संयोजक लालबहादुर सिङ्तानलाई संस्थाको मुख्य कार्यालयमा सहयोग हस्तान्तरण गरेका थिए।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शम्भु प्रसाद फुयाल, पदाधिकारी, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका कर्मचारीहरू तथा खेलाडीहरूको सहभागिता थियो।
संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै आयोजक टिमका खेलाडीहरूमा विजयको शुभकामना समेत व्यक्त गरेको छ ।
हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय, ललितपुरमा दर्ता भई स्थापना भएको थियो ।
२९ जना सदस्यहरूले ‘हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ नाममा दर्ता गरी ४९ जना सदस्यबाट २ लाख ४५ हजार रुपैयाँ पुँजीबाट कारोबारको शुभारम्भ गरेको संस्थामा हाल चार वटा सहकारी संस्था एकीकरण भई ७ हजार ४ सयभन्दा बढी सदस्य आबद्ध छन्। संस्थाको हाल १३ करोड ६० लाख रुपैयाँ शेयर रकम, १६ करोड रुपैयाँ संस्थागत पुँजी, १३७ करोड रुपैयाँ बचत संकलन तथा ११७ करोड रुपैयाँ ऋण लगानी रहेको छ।
Advertisment