ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८औँ वर्षमा प्रवेश गरेको छ। २०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय, ललितपुरमा दर्ता भई स्थापना भएको संस्थाले सहकारी क्षेत्रमा सुदृढ उपस्थिति कायम गर्न सफल भएको छ। स्थापना दिवसको अवसरमा संस्थाले सम्पूर्ण सदस्यहरू, स्थापनाकालदेखि हालसम्म संस्था सञ्चालन र व्यवस्थापनमा योगदान गर्ने विभिन्न समिति–उपसमितिका पदाधिकारी, कर्मचारीहरू तथा सल्लाहकारहरू प्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गरेको छ।
२९ जना सदस्यहरूले ‘हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ नाममा दर्ता गरी ४९ जना सदस्यबाट २ लाख ४५ हजार रुपैयाँ पुँजीबाट कारोबारको शुभारम्भ गरेको संस्थामा हाल चार वटा सहकारी संस्था एकीकरण भई ७ हजार ४ सयभन्दा बढी सदस्य आबद्ध छन्। संस्थाको हाल १३ करोड ६० लाख रुपैयाँ शेयर रकम, १६ करोड रुपैयाँ संस्थागत पुँजी, १३७ करोड रुपैयाँ बचत संकलन तथा ११७ करोड रुपैयाँ ऋण लगानी रहेको छ।
संस्थाले सदस्य हितलाई केन्द्रमा राख्दै बचत तथा ऋण सेवा मात्र नभई विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। सदस्य सम्मान, ज्येष्ठ सदस्य अभिनन्दन, छात्रवृत्ति वितरण, वित्तीय साक्षरता कार्यक्रम, युवा नेतृत्व विकास, करियर परामर्श तथा समुदायमा सहकारी शिक्षा अभियान जस्ता कार्यक्रममार्फत सदस्य र समुदायबीच सुदृढ सम्बन्ध विस्तार गरेको छ।
विशेषगरी विपन्न तथा न्यून आय भएका सदस्यलाई लक्षित गरी ‘केयर कार्यक्रम’मार्फत सहुलियतपूर्ण ऋण सेवा तथा स्वरोजगार सीप विकास तालिम सञ्चालन गर्दै जीवनस्तर उकास्ने प्रयास गरिएको संस्थाले जनाएको छ।
प्राकृतिक विपद्, भूकम्प तथा कोभिड–१९ जस्ता विषम परिस्थितिमा समेत निरन्तर सेवा प्रवाह गर्दै सदस्यको विश्वास जोगाउन सफल भएको संस्थाको दाबी छ। नियामकीय मापदण्डको पालना, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना तथा रणनीतिअनुसार संस्था अघि बढिरहेको अध्यक्ष श्यामकृष्ण घिमिरेले बताए।
स्थापना दिवसका अवसरमा अध्यक्ष घिमिरेले सम्पूर्ण सदस्य, कर्मचारी, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, विश्वसनीय र सदस्य–मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
संस्थाले आगामी दिनमा पनि सदस्यको बचत तथा लगानीको सुरक्षालाई उच्च प्राथमिकता दिँदै सहकारी क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको अध्यक्ष घिमिरेले बताए।
Advertisment