Below Menu
Below Menu

सनराइज होल्डिङ्सको ६० प्रतिशत लगानी असूचीकृत शेयरमा, व्यापार बढेपनि नाफामा दबाब

सनराइज होल्डिङ्सको ६० प्रतिशत लगानी असूचीकृत शेयरमा, व्यापार बढेपनि नाफामा दबाब

काठमाडौं : सनराइज होल्डिङ्स लिमिटेडले सन् २०२५ मा ७८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८२.७९ प्रतिशतले बढी हो। सूचीकृत शेयरको उच्च कारबारका कारण कम्पनीको व्यापारमा वृद्धि देखिएको रिपोर्टमा उल्लेख छ । 

Sponsored Advertisement

केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२४ मा २७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा यो रकम ३३ करोड ८० लाख रुपैयाँ रहेको थियो।

व्यापार विस्तार भए पनि कम्पनीको नाफा मार्जिनमा भने तीव्र उतार–चढाव देखिएको छ। सन् २०२४ मा १७.२१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ५.३२ प्रतिशतमा सीमित भएको छ। सन् २०२३ मा भने सञ्चालन नाफा मार्जिन नकारात्मक अवस्थामा थियो। शेयर बजारको अस्थिरताका कारण सन् २०२५ मा कम्पनीले केवल ५० लाख रुपैयाँ खुद नाफा कमाउन सकेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको कुल लगानीमध्ये करिब ६० प्रतिशत असूचीकृत शेयरमा केन्द्रित रहेको छ । विशेषगरी कम्पनीको लगानी होटल÷पर्यटन क्षेत्र र निर्माणाधीन जलविद्युत् आयोजनामा रहेको छ । यद्यपी उक्त क्षेत्रको लगानीबाट प्रतिफल आउन लामो समय लाग्ने र जोखिम पनि उच्च रहने केयर रेटिङको ष्किर्ष छ।

सन् २०२६ को जनवरीसम्म कम्पनीको करिब ४० प्रतिशत लगानी जलविद्युत् क्षेत्रमा रहने अनुमान छ। सरकारको प्राथमिकतामा जलविद्युत् क्षेत्र रहेपनि लामो निर्माण अवधि र सञ्चालनसम्बन्धी चुनौतीका कारण तत्काल नाफामा दबाब रहने रेटिङ एजेन्सीले जनाएको छ । 

कम्पनीको नाफा र नगद प्रवाह ठूलो मात्रामा शेयर बजारको कारोबारमा निर्भर भएकाले बजार मन्दीको समयमा वित्तीय अवस्था प्रभावित हुन सक्ने जोखिम पनि औंल्याइएको छ।

साथै, सेबोन, नेपाल राष्ट्र बैंक तथा सरकारबाट हुने नीतिगत परिवर्तन, पुँजीगत लाभ कर, ब्याजदर र ट्रेडिङ कमिसनमा हुने संशोधनले कम्पनीको लगानी वातावरणमा असर पार्ने उल्लेख छ । 

कम्पनीका कार्यकारी अध्यक्ष सुभाष अमात्य जलविद्युत्, उड्डयन र बीमा क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् । कम्पनीको अधिकांश लगानी इक्विटीमार्फत गरिएको छ। 

सन् २०२५ मा प्रवद्र्धकबाट थप पूँजी प्रवाह भएपछि कुल गियरिङ अनुपात ०.४० गुणामा सीमित रहेको छ । साथै, कम्पनीले कुनै पनि सहायक वा लगानी कम्पनीका लागि कर्पोरेट ग्यारेन्टी नदिएको रेटिङ प्रतिवेदनमा उल्लेख छ।

साथै कम्पनीले निकट भविष्यमै सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी गरेको छ । 

थप समाचार