अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन रामेछापका कृषकलाई आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन रामेछापका कृषकलाई आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने

काठमाडौं : रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गरेको छ ।

Sponsored Advertisement

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले सूचना जारी गर्दै जिल्लाभित्रका इच्छुक व्यावसायिक कृषकलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको हो ।

‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुँदैछ ।

 प्रदर्शनीमा रामेछापका कृषकलाई सहभागी गराउन कार्यालयले प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार कृषि कार्यमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोग बढाउने, नयाँ प्रविधिबारे जानकारी दिने र कृषकको कार्यक्षमता वृद्धि गर्ने लक्ष्यसहित प्रदर्शनीमा सहभागिताको व्यवस्था गर्न लागिएको हो ।

कृषि कार्यालयको यस पहलले कृषि यान्त्रीकरण र आधुनिक प्रविधिको प्रयोग प्रवर्द्धनमा उत्साह थपेको नेपाल कृषि मेशिनरी व्यवसायी संघ ९नामिया० का अध्यक्ष कृष्ण शर्माले बताए । उनले कृषि क्षेत्रको रूपान्तरणका लागि यान्त्रीकरण प्रदर्शनी आयोजना गर्न लागिएको उल्लेख गर्दै कृषि कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई पनि रामेछापको जस्तै सक्रिय सहयोग गर्न आग्रह गरे ।

“कृषिको रूपान्तरणका लागि यान्त्रीकरण प्रदर्शनी आयोजना गर्न लागिएको हो । यसमा कृषि कार्यालय, पालिका र सरोकारवाला सबैले रामेछापको जस्तै साथ दिन पनि हाम्रो अनुरोध छ,” शर्माले भने ।

प्रदर्शनीमा सहभागी हुन इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् असोज २६ गतेसम्म कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । कृषकले कार्यालयबाट उपलब्ध गराइएको निवेदन फाराममा आवश्यक विवरण भरी बुझाउन सक्नेछन् । त्यसैगरी, कार्यालयको इमेल बमयचबmभअजजबउ२नmबष्।िअयm मार्फत पनि निवेदन पेस गर्न सकिनेछ ।

निवेदनमा कृषकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा किसान परिचयपत्र नम्बर, खेती गरिरहेको बाली र क्षेत्रफल, कृषि फर्म वा समूहको नाम, कृषि व्यवसाय गरेको अवधि, उपलब्ध संरचना तथा यन्त्र उपकरणको विवरण उल्लेख गर्नुपर्नेछ । साथै, प्रदर्शनीमा सहभागी हुन चाहनुको कारण र अपेक्षासमेत खुलाउनुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदर्शनीमा सहभागी हुने कृषकका लागि आवतजावतको व्यवस्था गरिनेछ । सहभागी कृषकलाई प्रदर्शनी अवधिभर एक दिन अवलोकन गराइनेछ ।

सहभागीको संख्या सीमित हुने भएकाले कृषकको व्यावसायिकता र आवश्यकताका आधारमा छनोट गरिने कार्यालयले जनाएको छ । छनोटका लागि आवश्यक मापदण्डसमेत कार्यालयले निर्धारण गर्न सक्ने सूचनामा उल्लेख छ ।

थप जानकारीका लागि कार्यालयका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीलाई ९७६७७६३९७६ मा सम्पर्क गर्न सकिनेछ । कार्यालयको फोन नम्बर ०४८–५४०३०८ र ०४८-५४००६३ रहेको छ ।

कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को संयुक्त आयोजनामा हुने प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन् ।

थप समाचार