Below Menu
Below Menu

ब्याजदर र अन्तर्राष्ट्रिय कल घट्दा टेलिकमको नाफामा धक्का, प्रतिशेयर आम्दानीमा पनि संकुचन 

ब्याजदर र अन्तर्राष्ट्रिय कल घट्दा टेलिकमको नाफामा धक्का, प्रतिशेयर आम्दानीमा पनि संकुचन 

काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले चार अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले चार अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

ह्वाट्सएप, भाइबरजस्ता ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय आगमन कलमा आएको कमी, बजारमा ब्याजदर घट्नु, लगानीको मूल्यमा आएको परिवर्तन, कर्मचारी खर्चमा वृद्धि, कर तथा अन्य सञ्चालन खर्च बढेका कारण नाफामा असर परेको हो । 

यस अवधिमा कम्पनीको कुल आम्दानी घटेसँगै खुद नाफा घटेको हो। गत आवको सोही अवधिको १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँमा झरेको छ । 

त्यस्तै कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.७३ प्रतिशतले बढेको भने वित्तीय आम्दानी ३२.४० प्रतिशत घटेको छ।  कम्पनीको कुल सञ्चालन आम्दानी १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रूपैयाँ पुगेको रहेको छ । गत वर्षको सोही अवधिमा टेलिकमको सञ्चालन आम्दानी १७ अर्ब ४९ लाख रुपैयाँ रहेको थियो । 

पुुस मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४६.२७ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ५३९.५१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.२८ गुणा रहेको छ।

पुस मसान्तसम्ममा १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७९ अर्ब ११ करोड १८ लाख रुपैयाँ सञ्चित छ।

थप समाचार