Below Menu
Below Menu

बैंकिङ प्रणालीमा तरलताको चाप: ७७ खर्ब नाघ्यो निक्षेप, कर्जा लगानी कति ? 

बैंकिङ प्रणालीमा तरलताको चाप: ७७ खर्ब नाघ्यो निक्षेप, कर्जा लगानी कति ? 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या थप गहिरिँदै गएको छ। बजारमा कर्जाको माग संकुचित हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्न नसक्ने अवस्था सिर्जना भएको छ । जसका कारण कुल निक्षेप ७७ खर्ब रुपैयाँ नाघेको छ।

Sponsored Advertisement

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७७ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। माघ २५ गते मात्रै बैंकिङ प्रणालीमा आठ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। अघिल्लो दिन माघ २४ गतेसम्म बैंकहरूमा ७६ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।

उक्त दिन वाणिज्य बैंकहरूमा मात्रै सात अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ। यससँगै वाणिज्य बैंकहरूको कुल निक्षेप ६९ खर्ब ३५ अर्ब रुपैयाँबाट बढेर ६९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। अन्य वित्तीय संस्थाहरूमा रहेको निक्षेप भने ७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा प्रवाह भने अपेक्षाकृत सुस्त देखिएको छ। सो अवधिमा ८ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी भने ५ अर्ब रुपैयाँ मात्र भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले कुल ५७ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५१ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक तथा वित्तीय संस्थाहरूले ६ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

तरलता बढेसँगै अन्तरबैंक कारोबारको ब्याजदर स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा कायम छ। साथै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७४.३५ बिन्दुमा झरेको छ।

 

थप समाचार