Below Menu
Below Menu

पाँचतारे होटल बन्न ढिलाइ हुँदा बन्दिपुर केबलकारलाई वित्तीय दबाब, ‘क्रेडिट स्कोर’ घट्याे

पाँचतारे होटल बन्न ढिलाइ हुँदा बन्दिपुर केबलकारलाई वित्तीय दबाब,  ‘क्रेडिट स्कोर’ घट्याे

काठमाडौं : निर्माणाधीन पाँचतारे होटल परियोजनामा भएको ढिलाइका कारण बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको क्रेडिट रेटिङ घटेको छ। यद्यपि, कम्पनीको दीर्घकालीन पर्यटन सम्भावना अझै सकारात्मक रहेको केयर रेटिङ्स नेपाल लिमिटेडले जनाएको छ।

Sponsored Advertisement

केयर रेटिङ्सले कम्पनीको इस्यूअर क्रेडिट रेटिङ बीबी माइनसमा झारेको छ। यससँगै कम्पनीले लिएको दीर्घकालीन बैंक कर्जाको रेटिङ पनि बीबी माइनस कायम गरिएको छ। होटल परियोजना समयमै सम्पन्न नहुनु, लागत बढ्ने जोखिम र त्यसको असर नगद प्रवाहमा पर्ने देखिएकाले रेटिङ घटाइएको केयर रेटिङ्सको भनाइ छ।

केबलकारबाट आम्दानी सुरु, होटल अझै अपूरो

बन्दिपुर केबलकार सन् २०२४ जुलाईदेखि सञ्चालनमा आएर आम्दानी सिर्जना गर्न थालेको छ। तर परियोजनाको दोस्रो चरणअन्तर्गत पहाडी स्टेशनमा निर्माणाधीन पाँचतारे होटल ‘क्विन टावर’ अझै सम्पन्न हुन सकेको छैन।

होटल परियोजनामा थप ढिलाइ भएमा परियोजनाको प्रतिफल सूचक, तरलता स्थिति तथा समग्र क्रेडिट जोखिम प्रोफाइलमा नकारात्मक असर पर्न सक्ने केयर रेटिङ्सले चेतावनी दिएको छ।

सन् २०२५ सम्मको वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी चार करोड रुपैयाँ पुगेको छ। तर सञ्चालन नाफा मार्जिन, ब्याज आवरण अनुपात तथा कुल ऋण–सकल नगद सञ्चिति अनुपात नकारात्मक अवस्थामा छन्। समग्र गियरिङ अनुपात ०.५५ गुणा र करेन्ट रेसियो ०.९७ गुणा रहनुले कम्पनीको तरलता स्थिति कमजोर देखाएको छ।

कम्पनीले बन्दिपुरमा ८० कोठा क्षमताको पाँचतारे होटल निर्माण गरिरहेको छ, जसमा स्वीमिङ पुल, स्पा, सम्मेलन तथा भोज हललगायत सुविधा रहनेछन्। होटल सञ्चालनका लागि अन्तर्राष्ट्रिय ब्रान्ड “लेमन ट्री होटल्स” सँग सम्झौता भइसकेको छ।

तर प्रिमियम होटल उद्योगमा स्थिर आम्दानी र नाफा हासिल गर्न समय लाग्ने भएकाले सुरुवाती वर्षहरू चुनौतीपूर्ण हुने केयर रेटिङ्सको निष्कर्ष छ। सामान्यतया होटलमा निर्माणका लागि ३–४ वर्ष र सञ्चालनका लागि थप २–३ वर्ष लाग्ने हुँदा अपेक्षित आम्दानी हासिल गर्न चुनौति रहेको रिपोर्टमा उल्लेख छ । 

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सम्पूर्ण व्यवसाय बन्दिपुरस्थित एउटै परियोजनामा केन्द्रित छ, जसले कम्पनीलाई एकल सम्पत्ति जोखिममा राखेको छ। पर्यटन व्यवसाय मौसमी र चक्रीय हुने भएकाले आम्दानी मुख्यतः सप्ताहन्त, चाडपर्व र पर्यटक सिजनमा निर्भर रहनेछ।

विदेशी पर्यटक आगमन घट्दा, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, महामारी वा पर्यटन क्षेत्रमा मन्दी आएमा कम्पनीको आम्दानी प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने जोखिम पनि मूल्याङ्कनमा समेटिएको छ।

सरकारले आर्थिक वर्ष २०२३–२०३३ लाई “पर्यटन दशक” घोषणा गरेको छ भने होटल तथा रिसोर्टका लागि कर छुटसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३.२८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सन् २०१९ मा ११.९७ लाख पुगेको पर्यटक आगमन कोभिडपछि घटे पनि २०२३ मा ११.५८ लाख पुगेको र २०२५ को अन्त्यसम्म वृद्धिको क्रम जारी रहेको उल्लेख गरिएको छ। यद्यपि, सेप्टेम्बर २०२५ मा भएको विरोध, कर्फ्यु र विमानस्थल बन्दका कारण उक्त महिनामा पर्यटक आगमन वार्षिक रूपमा १८ प्रतिशतले घटेको थियो।

यद्यपी बन्दिपुरजस्तो पर्यटन गन्तव्यमा अवस्थित परियोजना, प्राविधिक साझेदारमार्फत सञ्चालन भइरहेको केबलकार तथा पर्यटन क्षेत्रलाई सरकारले दिएको प्राथमिकताले कम्पनीको दीर्घकालीन सम्भावनालाई बल दिएको केयर रेटिङ्सको निष्कर्ष छ।

राष्ट्रिय योजना आयोगले बन्दिपुर केबलकार परियोजनालाई ‘राष्ट्रिय प्राथमिकता परियोजना’ को रूपमा सूचीबद्ध गरेको छ। कम्पनीले दीर्घकालीन बैंक कर्जाका लागि एक अर्ब ३० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । 

बन्दिपुर गाउँपालिका तथा विभिन्न संस्थागत र व्यक्तिगत प्रवद्र्धकहरूको सहभागितामा स्थापित कम्पनीको बोर्डमा आठ सदस्य छन्। अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा अनुभवी व्यवस्थापन टोलीले परियोजना अगाडि बढाइरहेको छ।

थप समाचार