Below Menu
Below Menu

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

मुगु : मुगुको पूर्वी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ ।

Sponsored Advertisement

यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका छन् ।

गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापन गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँदै स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको संकलन, बजारी करण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य तथा सहजीकरण गर्ने मुख्य उद्देश्य लिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

व्यापार कम्पनीले सहुलियतमा उपलब्ध गर्दै आएको खाद्यन्न पालिकामा समयमै ढुवानी गरी कम्तीमा तीन महिनासम्म धान्ने मौज्जाद क्षमता भएको गोदाम गाउँपालिकाले उपलब्ध गराउनुपर्नेछ ।

स्थानीय स्तरमा उत्पादन हुने चिनो, कागुनु, भटमास, कोदो, फापर, सिमी, नाफल, उवालगायतका अन्नबाली गाउँपालिकाले स्थानीयबाट खरिद गरी व्यापार कम्पनीलाई बिक्री गर्ने र खरिद भएको रैथाने बालीलाई सोही गाउँपालिका—९ मा रहेको कोसेली घरमा भण्डारण गरी खाद्य कम्पनीलाई बिक्री गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

आउँदो पाँच वर्षका लागि भएको सम्झौता अनुसार पालिकामा उत्पादन हुने रैथाने बालीको परिमाण यकिन गरी निश्चित परिमाण कम्तीमा एक ट्रक संकलित रैथाने बाली पुगेपछि कम्पनीले खरिद गरी बजारीकरणका लागि आन्तरिक तथा बाह्य बजार व्यवस्था गर्नेछ ।

गाउँपालिकामा रैथाने बालीहरूमा सबैभन्दा बढी कोदो, चिनो, फापर, सिमी, नाफल उत्पादन हुने गर्छ । उत्पादन गरेको रैथाने अन्नबालीले बजार नपाएका बेला गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीय नागरीकहरु निकै हर्षित भएको गाउँपालिका—९ का वडाध्यक्ष रतनबहादुर बुढाले बताए ।
वडा अध्क्षयका अनुसार पालिकाभित्र कृषकहरुले उत्पादन गरेका स्याउ,चोति,कोइरालगायत अन्य फलफुल समेतको कम्पनीसँग सहकार्य गरि दिएको भए यहाँका कृषकहरुको थप आय आजनमा सुधार आउर्ने समेत बताएका छन् ।

कुटानी पिसानीका कारण आफूले उत्पादन गरेका अन्नबाली उपभोग गर्न सहजता छैन । गाउँपालिकामा रैथाने अन्नबाली राम्रो उत्पादन हुनेगर्छ । उत्पादन बढी भए पनि ढुवानीका कारण अन्यत्र बिक्री गर्न यहाँका स्थानीयले सक्दैनन् ।

अब गाउँपालिकाको सबैलाई पायक पर्ने स्थानमा स्थानीयबाट अन्नबाली गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीयलाई सहज हुने भएको हो ।
स्थानीयबाट रैथाने बाली खरिदका लागि आउँदो बजेट अधिवेशनमा १५ लाख रुपैयाँ रकम विनियोजित गर्ने भएको छ ।

व्यापार कम्पनी, गाउँपालिका र कृषक प्रतिनिधिको सहभागितामा बालीको मूल्य निर्धारण गरिनेछ ।

थप समाचार