भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकका वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने सीमा अस्थायी रूपमा बढाएको छ। अब चाडपर्वको अवधिमा प्रयोगकर्ताले एक दिनमा १० पटकको सट्टा ४० पटकसम्म आफ्नो वालेटमा पैसा लोड गर्न सक्नेछन्।

Sponsored Advertisement

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार दशैँका लागि २०८२ असोज १३ गतेदेखि २०८२ असोज २१ गतेसम्म तथा तिहार र छठका लागि २०८२ कात्तिक ३ गतेदेखि २०८२ कात्तिक १० गतेसम्म यो सुविधा दुई चरणमा उपलब्ध हुनेछ । 

यसअघि, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन अनुसार एक जना प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा १० पटकसम्म मात्र वालेटमा पैसा जम्मा गर्न पाउने व्यवस्था थियो।

राष्ट्र बैंकले यसरी सीमा बढाउँदा भएको कारोबार संख्या र कुल रकमबारे विभागलाई जानकारी गराउन पनि सबै भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। चाडपर्वको समयमा हुने आर्थिक कारोबारलाई सहज बनाउन यो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

थप समाचार