काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नौं खर्ब रुपैयाँ रेमिट्यानस भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.९०० अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो ।
चालु आवको सात महिनामावैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ०४५ रहेको थियो ।
Advertisment