विकासका कामलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

विकासका कामलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकासका कामलाई तीव्रता दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्च व्यवस्थापन समूहको आजको बैठकमा मन्त्री खड्काले भने, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कामले समग्र सरकारको काम झल्कने भएकाले छिटो सम्पन्न गर्नुपर्छ ।”

 मन्त्री खड्काले सरकारले लिएको गति र लक्ष्य पुरा गर्न कर्मचारीको ठूलो भूमिका रहने बताए। कामको बाँडफाँड गरेर अगाडि बढ्न उनले निर्देशन दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले स्रोत सुनिश्चित भइसकेका आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडीले स्रोत सुनिश्चितता नहुँदा विकास आयोजना निर्माणमा ढिलाई भएको बताए ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले सरकारले राखेको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पुरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखले पाँच महिनाको भौतिक प्रगतिबारे जानकारी गराएका थिए । 

 

थप समाचार