काठमाडौं : मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा नोक्सानी घटाएको छ ।
पुस मसान्तसम्म कम्पनीले १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४६ करोड ४७ लाख १९ हजार नोक्सान व्यहोरेको थियो । वित्तीय खर्च बढ्दा कम्पनीको नाफा ऋणात्मक रहेको हो ।
यसअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १७ करोड ७७ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५०.८६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको कुल नाफा १४ करोड ५९ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १४ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च २१ करोड ५ लाख रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७० पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ २९ पैसा छ ।
Advertisment