काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले विद्युत बिक्री मार्फत ६१ करोड २० लाख रुपैयाँ कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशतले कम हो । गत आवको कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवै घटेको हो ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।
गत वर्षको पुस मसान्तसम्म ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको यस अवधिसम्ममा ३७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत पुस मसान्तको तुलनामा ५.५१ प्रतिशतले कम हो ।
विद्युत बिक्रीबाट हुने आम्दानी घटेका कारण नाफा घटेको हो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको इपीएस १.२६ रुपैयाँले घटेर ९.५० रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ ।
Advertisment