काठमाडौं : नेपाल राष्ट्र बैंकले सुदुरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्षको २०७९/८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५३ खर्ब ८१ अर्ब रहने अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा रु. ३ खर्ब ७६ अर्ब रहने अनुमान छ ।
आव २०७८/७९ मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ७ प्रतिशत योगदान पुर्याउने अनुमान रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनकोवृद्धि दर चालु आवमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर १.७८ प्रतिशत रहने अनुमान छ ।
यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबभन्दा बढी योगदान ३३.४ प्रतिशत कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ४.२३ प्रतिशतले वृद्धि भएको छ भने यस्ता बालीको उत्पादन १४.७४ प्रतिशतले बढेको छ ।
प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी जांैर धानको उत्पादन क्रमश ५८.३४ र ४९.४० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, तरकारी उत्पादनमा १३.४४ प्रतिशतले वृद्धि भएको छ भने फलफूल तथा मसला उत्पादन ११.०१ प्रतिशतले बढेको छ ।पशुजन्य उत्पादन अन्तर्गत दूध ३.२८ प्रतिशत, मासु २.७६ प्रतिशत र अण्डा ३.०७ प्रतिशतले बढेको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको ११.०१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । गत वर्षकोे तुलनामा समीक्षा वर्षमा कुल कृषि कर्जा १० प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५३.२८ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा वर्षमा तेल, चामल, चिनी, साबुन र ईटाको उत्पादन वृद्धि भएको छ भनेगँहुको पीठो र रोजिनको उत्पादनमा ह्रास आएको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १७.७२ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा ४.७० प्रतिशतले वृद्धि भई रु.२६ अर्ब ८९ करोड २ लाख पुगेको छ ।
पर्यटकस्तरीय होटल तथा लजको संख्यामा कुनै परिवर्तन आएको छैन भने होटल शैंयाको संख्या १.०३ प्रतिशतले घटेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या ३०.०६ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व ५४.०१ प्रतिशतले घटेको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको निक्षेप २०७९ असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि भएको छ ।
यातायात साधन संख्या ३.५८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको ७१.२४ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये समीक्षा वर्षमा ६७.३३ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये ६५.४ प्रतिशत खर्च भएको छ ।
समीक्षा वर्षसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल ११० मेगावाट विद्युत उत्पादन भई १३२ केभी प्रसारण लाईनमा जोडिएको छ । समीक्षा वर्षमा यस प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या गत आव २०७८/७९ को तुलनामा १७२.५ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिम प्रदेशमा १६ हजार ६ सय ६७ जना लाभान्वित भएका छन्।
Advertisment