Below Menu
Below Menu

गण्डकी प्रदेशमा पर्यटक आगमन १६३.४७ प्रतिशतले बढ्यो, कृषि उत्पादनमा भने ह्रास 

गण्डकी प्रदेशमा पर्यटक आगमन १६३.४७ प्रतिशतले बढ्यो, कृषि उत्पादनमा भने ह्रास 

काठमाडौं : नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।  

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको हिस्सा ३.७४ प्रतिशतले वृद्धि भएको अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ६.१ प्रतिशत रहेको थियो । 

प्रदेशका ११ जिल्लाहरुमा प्रमुख कृषि बालीहरुले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब २.६८ प्रतिशतले ह्रास आई ४ लाख ७५ हजार ६३३ हेक्टर भएको छ । मसलाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बाली, तरकारी र फलफूलको खेती गरिएको क्षेत्रफल घटेकाले समग्रतामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल २.६८ प्रतिशतले ह्रास आएको छ ।

तरकारीले ढाकेको क्षेत्रफल ०.७६ प्रतिशतले र फलफूलले ढाकेको क्षेत्रफल १.१६ प्रतिशतले घटेको छ भने मसलाबालीले ढाकेको क्षेत्रफल ४.५५ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा फलफूलको उत्पादन ०.६९ प्रतिशतले र मसलाको उत्पादन ३४.३३ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये स्याउ र सुन्तलाको उत्पादन क्रमशः १३.१९ प्रतिशत र १.४९ प्रतिशत ले वृद्धि भएको छ भने आँप र केराको उत्पादन क्रमशः ६.६५ प्रतिशत र २.७७ प्रतिशतले ह्रास आएको छ । 

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन समग्रमा ०.७५ प्रतिशतले ह्रास आएको छ । यसमध्ये मकै (२.३१ प्रतिशत), गहुँ (४.५१ प्रतिशत), उखु (२.४१ प्रतिशत), र दलहन (२.०१ प्रतिशत) को उत्पादन वृद्धि भएको छ ।

त्यस्तैगरी धान, कोदो, जौं, फापर, आलु, भटमास र तेलहनको उत्पादन पनि क्रमशः ३.७ प्रतिशत, ४.१४ प्रतिशत, १९.५५ प्रतिशत, ५.४७ प्रतिशत, १.३३ प्रतिशत, १.१७ प्रतिशत, र ९.९३ प्रतिशतले घटेको छ । 

पशुजन्य उत्पादनतर्पm दुधको उत्पादन २.८९ प्रतिशत, अण्डाको उत्पादन १.९१ प्रतिशत, र मासुको उत्पादन १.२६ प्रतिशतले ह्रास आएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादन ६७ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ भने दाउराका उत्पादन २४.३१ प्रतिशतले वृद्धि भएको छ ।

२०७९ असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु.३१ अर्ब ४५ करोड कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८ प्रतिशत रहेको छ ।

उद्योग क्षेत्र तर्फ समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ४५.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४३.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा प्रशोधित दुध, तोरीको तेल, चकलेट, सिमेन्ट र चुरोटको उत्पादनमा वृद्धि भएको छ भने बिस्कुट, चाउचाउ, इट्टा, लिक्वीड र क्याप्सुलको उत्पादनमा ह्रास आएको छ ।

गत आवको असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १०.६ प्रतिशत अर्थात् रु. ३७ अर्ब ४९ करोड कर्जा रकम औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।

सेवा क्षेत्र तर्फ प्रदेशमा गत आर्थिक वर्षमा पर्यटकको आगमन १९ हजार ८ सय ५० रहेकोमा समीक्षा अवधिमा झण्डै १६३.४७ प्रतिशतले विस्तार भई ५२ हजार २ सय ९९ पुगेकाले सेवा क्षेत्र विस्तार हुँदै गएको देख्न सकिन्छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकरात्मक प्रभाव देखिएको हो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २०७९ असार मसान्तको तुलनामा १९.२८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७४ अर्ब ९० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने ०.४ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५५ अर्ब १५ करोड पुगेको छ ।

पूर्वाधार र रोजगारी तर्फ कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्ड करिब ४० प्रतिशत र बेनी जोमसोम खण्डको भौतिक प्रगति करिब ७५ प्रतिशत रहेको छ । त्यस्तैगरी तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति ४१.५ प्रतिशत र ४०.०२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

यस प्रदेशका ८२ स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । सो अन्तर्गत सञ्चालित १ हजार ५ सय ८४ आयोजना मार्फत कुल ७ हजार ४ सय २८ व्यक्तिले औसतमा ७६ दिन रोजगारी पाएका छन् ।

चालु आर्थिक वर्ष (२०८०/८१) मा गण्डकी प्रदेशमा पर्यटक आगमन तथा कृषि उपजको उत्पादनमा वृद्वि भई समग्र आर्थिक क्रियाकलाप गत आर्थिक वर्षको तुलनामा थप विस्तार हुने प्रक्षेपण रहेको छ ।

Advertisment

थप समाचार