Below Menu

आजदेखि लागु भए तीन बीमालेखः यस्ता छन् विशेषता 

आजदेखि लागु भए तीन बीमालेखः यस्ता छन् विशेषता 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत जारी गरेको दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा पोलिसी आजदेखि लागु भएका छन् । 

Sponsored Advertisement

प्राधिकरणका अनुसार आजदेखि लागुभएका बीमालेखमा बीमित किसानले उक्त बीमालेख अन्तर्गत आगलागी, वर्षात, हावाहुरी, खडेरी, तुषारो, पहिरो, भूकम्प, रोग वा किरा, चट्याङ, जंगली जनावरको अतिक्रमणबाट हुने क्षतिविरुद्ध क्षति पाउने प्रावधान छ ।
कृषि बीमाको दायरा विस्तार गर्ने उद्देश्यका साथ थप तीन खेतीको बीमा गर्ने व्यवस्था मिलाइएको प्राधिरकणले जनाएको छ । नयाँ बीमालेख जारी भएसँगै दाल, आँप र ओखर खेती गर्दै आएका किसान तथा व्यवसायीलाई बीमा गर्न बाटो खुलेको छ ।

ओखर खेती बीमालेख

प्राधिकरणका अनुसार ओखर खेती बीमालेखअन्तर्गत आगलागीदेखि जङ्गली जनावरबाट हुने क्षतिसम्मको जोखिम व्यहोर्ने सुविधा समेटिएको छ ।

ओखर खेतीको बीमालेखमा लागत र उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ  । प्राधिकरणका अनुसार ओखरको बोटको लागतमा आधारित रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ५ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।

यसैगरी उत्पादन मूल्यको आधारमा बीमाङ्क निर्धारण गर्दा बीमाङ्कको ७ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ । 
प्राधिकरणले बिजु विरुवाको हकमा सात वर्षसम्म लागतको आधारमा मात्र बीमाङ्क निर्धारण गर्न पाइने प्रावधान ल्याएको छ ।

सात वर्षको अवधि पुरा भएपछि लागत, उत्पादन मूल्य वा दुबैको सम्मिश्रण विधिबाट बीमाङ्क निर्धारण गर्न सकिनेछ । 
यसैगरी यो बीमामा समेत २ लाख रुपैयाँ बीमाङ्कको किसानको दुर्घटना बीमा अनिवार्य गरिएको छ ।

बीमाङ्कको आधारमा बीमाशुल्क रकम ५ र ७ प्रतिशत निर्धारण गरिए पनि यो रकममा नेपाल सरकारको तर्फबाट ८० प्रतिशत अनुदान सहयोग प्रदान गरिने भएकाले किसानले व्यहोर्नुपर्ने भार बीमाङ्क रकमको क्रमशः १ प्रतिशत र १.४४ प्रतिशत रकम बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।

यो बाहेक दुर्घटना बीमाका लागि अतिरिक्त ५ सय रुपैयाँ किसानले नै भुक्तानी दिनुपर्नेछ। प्राधिकरणले प्रतिबोट उत्पादन लागत खर्च २ हजार १४४ रुपैयाँदेखि ४ हजार ३ सय कायम गरेको छ ।

यसैगरी उत्पादन लागतका आधारमा बीमाङ्क रकम तय गर्दा किसानले खेतमा पाउने मूल्यलाई आधार मान्नुपर्ने नियम बनाएको छ । यसका लागि ओखरको बोटको उमेरको आधारमा प्रति बोट ५ केजी देखि ११० केजी सम्म उत्पादन हुने अनुमान गरेको छ ।

आँप खेती बीमालेख

आँप खेतीको बीमालेख जारी गर्दा लागत र उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ  । प्राधिकरणका अनुसार आँप बोटको लागतमा आधारित रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ५ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।

यसैगरी उत्पादन मूल्यको आधारमा बीमाङ्क निर्धारण गर्दा बीमाङ्कको ७ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।

यस बीमामा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित पाँच सय रुपैयाँ लागने छ ।

प्राधिकरणका अनुसार नयाँ बगैचाको विरुवाको हकमा रोपेको तीन महिनापछि बीमा गर्नुपर्नेछ भने पुरानो बगैचाको हकमा असोजदेखि पुस मसान्तसम्म बीमा गरेको हुनुपर्नेछ । 

दलहन (दाल) को बीमालेख 

दलहन बालीको बीमालेख जारी गर्दा उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ  । प्राधिकरणका अनुसार मुङ्ग, मास र गहत बालीको हकमा रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ३ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ ।

त्यसैगरी, चना, मसुरो, केराउ, बोडी, सिमी, भटमास र राजमा बालीको हकमा बीमांक रकमको ४ प्रतितश र रहर बलाीको हककमा बीमांक रकमको ५ प्रतिशतका दरले भुक्तानी गर्नुपर्नेछ । 

यस बीमामा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित पाँच सय रुपैयाँ लागने छ । प्राधिकरणका अनुसार बीउ छरकेो ३० दिन भत्र त्यसको बीउ अंकरण भएको बालीको बीमा गर्नुपर्नेछ । 

चलन चल्तीमा रहेका दलशन बालीको शकमा उक्त क्षेत्रमा कीम्तमा १० वर्षदेखि खेती गरिएको भनि सम्बन्धित कृषि हेर्ने सरकारी कार्यालय वा स्थानीय तहको शाखाले सिफारिस गरेको हुनुपर्नेछ । 

 

थप समाचार