Below Menu
Below Menu

दोब्बरले बढे कालोसूचीमा पर्ने ऋणी, जोखिममा वित्तीय क्षेत्र  

दोब्बरले बढे कालोसूचीमा पर्ने ऋणी, जोखिममा वित्तीय क्षेत्र  

काठमाडौं : पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीको संख्या दोब्बरले बढेको छ । बजारमा देखिएको आर्थिक मन्दीका कारण समयमा ऋण तिर्न नसक्दा कालोसूचीमा पर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ । 

चर्को ब्याजदर र मागको संकचुनले गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमा नतिरेका कारण व्यवसायीहरु ऋणको पासोमा परेका छन् । 

ऋणीहरुले समयमा ऋण नतिर्दा वित्तीय क्षेत्र समेत जोखिममा परेको छ । जसको परिणाम बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमाससम्मको वित्तीय रिर्पोटले देखाउँछ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै जाँदा अधिकांश बैंक तथा लघुवित्तको नाफा समेत घटेको छ ।

कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको मंसिर २० गतेसम्म १५ हजार ९७३ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ११६.०८ प्रतितशले धेरै हो । जबकी गत आवको सोही अवधिमा ७ हजार ३९२ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए । 

समयमा वित्तीय दायित्व पुरा नगर्दा कालोसूचीमा पर्ने व्यापारी र उद्योगीको संख्या दोब्बरले बढिरहेको छ । ऋण तिर्न नसकेपछि एक–अर्कालाई चेक बाउन्स गर्ने प्रवृत्ति बढ्दै जाँदा कालोसूचीमा ऋणीको संख्या थपिदै गएको व्यापारी बताउँछन् । अधिकांश व्यापारीले बैंक चेक दिएर उधारोमा कारोबार गर्न थालेपछि चेक बाउन्स जस्ता वित्तीय अपराध झन् बढ्न थालेको हो ।

यस अवधिमा धेरैंजसो चेक बाउन्स कारण व्यापारीहरु कलोसूचीमा परेको केन्द्रले जनाएको छ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र झन् शिथिल बन्दै गएको छ । मंहगी र चर्को ब्याजदरका कारण आर्थिक गतिविधि सुस्त छ । व्यापार व्यवसायहरु ठप्प भएका छन् । 

कोरोना महामारी, युक्रेन रुसबीचको यूद्ध र हाल इजरायल हमास युद्धका कारण विश्वभर फैलिएको मन्दीको बाछिटाबाट नेपाली अर्थतन्त्र पनि मुक्त हुन सकेको छैन । मागमा संकुचन आएपछि बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकेका छैनन् ।

मागसँगै आयात घटेका कारण व्यवसायमा झन् संकुचन आएको छ । आर्थिक समस्याका कारण ऋण तिर्न नसकेपछि व्यवसायीहरुले आत्मदाह घटना पनि सार्वजनिक भइरहेका छन् ।
 

Advertisment

थप समाचार