काठमाडौं : एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे आठ अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत असोज महिनाको तुलनामा कात्तिकमा आठ अर्ब ६३ करोड ४६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् ।
कात्तिक मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख १४ हजार ५४७ बीमालेख बिक्री गरी ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क गत असोज मसान्तको तुलनामा २१. प्रतिशतले बढी हो । जबकी गत असोज मसान्तसम्म कम्पनीहरुले एक करोड ३८ लाख ६४ हजार बीमालेख बिक्री गरी ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
एक महिना उठाए साढे आठ अर्ब बीमाशुल्क
कम्पनीहरुले चालु आवको कात्तिकमा महिनामा मात्रै साढे आठ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले तीन लाख २१ हजार ९०८ बीमालेख बिक्री गरी ८ अर्ब ६३ करोड ४६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जबकी गत असोज महिनामा बीमा कम्पनीहरुले नौं लाख १६ हजार ९३ बीमालेख बिक्री गरी ११ अर्ब ६७ करोड १७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।
चार कम्पनीको व्यवसाय पाँच अर्ब माथि
असोज मसान्त अर्थात चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा चार बीमा कम्पनीहरुले पाँच अर्ब भन्दा माथिको व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ११ लाख ९७ हजार ५९७ बीमालेख बिक्री गरी १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
यस अवधिमा नेशनल लाइफले १५ लाख ६९ हजार २२९ बीमालेख जारी गरी पाँच अर्ब २९ करोड ३५ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ भने लाइफ इन्स्योरेन्स कम्पनीले पनि पाँच अर्ब ५६ करोड ५९ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको हो ।
अन्य कम्पनीको व्यवसाय
यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ८० हजार ३५६ बीमालेख बिक्री गरी चार अर्ब २३ करोड एक लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
कात्तिक मसान्तसम्म मेट लाइफले एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एशियन लाइफले दुई अर्ब ३६ करोड ५१ लाख, आईएमई लाइफले एक अर्ब ३० करोड ३४ लाख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुले अर्ब भन्दाबढीको व्यापार गरेका छन् । रिलायब नेपाल लाइफ इन्स्योरेन्सले ३२ लाख ५३ हजार २२५ बीमालेख बिक्री गरी एक अर्ब २१ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यस अवधिमा सिटिजन लाइफले एक अर्ब ७८ करोड ७० लाख रुपैयाँ, सूर्यज्योति लाइफले दुई अर्ब ७६ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब ८९ करोड ५३ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले एक अर्ब ३७ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
फस्टाउँदै लघुबीमाको व्यापार
प्राधिकरणबाट भर्खरै लाइसेन्स पाएर व्यवसाय शुरु गरेका तीन लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । कात्तिक मसान्तसम्म कम्पनीहरुले ४८ लाख ७८ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले दुई हजार ८८० बीमालेख जारी गरी २७ लाख ७० हजार रुपैयाँ, केष्ट माइक्रो लाइफले २ हजार २३५ बीमालेख जारी गरी २० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ६३ बीमालेख जारी गरी ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment