काठमाडौं : नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ बिच आज एक सम्झौता भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष रु.२५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने सहमति भएको हो ।
कम्पनीको तर्फबाट आज एक समारोहका बिच कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।
समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताए । साथै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराउनु भएकोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गरे ।
काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गर्दै उनले अस्पताल संचालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।
Advertisment