काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज (मंसिर १० गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।
त्यस्तै, कम्पनीले कर्मचारीहरुका लागि प्रतिशेयर १०० रुपैयाँमा २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर छुट्याएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment