Below Menu
Below Menu

स्वास्थ्य बीमावापतको साढे ४४ अर्ब दाबी भुक्तानी, थपिदै बीमित 

स्वास्थ्य बीमावापतको साढे ४४ अर्ब दाबी भुक्तानी, थपिदै बीमित 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको साढे ४४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुुरु भएदेखि हालसम्म बीमा वापतको ४४ अर्ब ५३ करोड ३२ लाख ३१ हजार १०९ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा मात्रै बोर्डले सवा तीन अर्ब बढी दाबी भुक्तानी गरेको छ । बोर्डले यस अवधिमा दुई पटक गरी तीन अर्ब १६ करोड ३ लाख ९५ हजार १०९ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कात्तिक १९ गते बोर्डको निर्णय अनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा दोस्रो पटकको भुक्तानी पठाएको हो । बोर्डले दोस्रो पटकमा एक अर्ब ६९ करोड ६५ लाख ४३ हजार ५१८ रुपैयाँ दाबी भुक्तानी पठाएको हो ।

यस अघि गत असोज २ गते बसेको बोर्डको निर्णय अनुसार प्रथम पटक एक अर्ब ४६ करोड ३८ लाख ५१ हजार ५१९ रुपैयाँ दावी भुक्तानी पठाएको थियो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३३६ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् । सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकममध्ये कटहरिया स्वास्थ्य केन्द्रको पेश्की फर्छोट १९ हजार ३५१ रुपैयाँ समेत भुक्तानी भएको बोर्डले जनाएको छ ।

पछिल्लो समय स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढेको छ । हालसम्म करिब ७२ लाख भन्दाबढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार यस अवधिमा ७१ लाख ९१ हजार ९६६ जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

Advertisment

थप समाचार