Below Menu
Below Menu

यस्तो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

यस्तो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो ।

उक्त तथ्यांक अनुसार असोज मसान्त अर्थात तीन महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको हो । त्यस्तै असोज मसान्तसम्म मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ ।

यस अवधिमा आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.३ प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेको छ । चालु खाता ५९ अर्ब ९ करोडले बचतमा  र शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

त्यस्तै, वैदेशिक व्यापार तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ । यस अवधिमा नेपाल सरकारको खर्च २ खर्ब ८० अर्ब ५७ करोड र राजस्व परिचालन २ खर्ब १९ अर्ब १२ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.८ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.८ प्रतिशत रहेको छ ।


 

Advertisment

थप समाचार