काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म मूल्यवृद्धि ७.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशतरहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलपूmलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.२५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ ।
असोज महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।
Advertisment