काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ८८१ जनाले अनुमति लिएका छन् । यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको हो । शरद ऋतुलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ ।
पर्यटन विभागका अनुसार यस याममा ४२ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ८८१ नागरिकले अनुमति लिएका हुन् । जसमा ७०२ पुरुष र १७९ महिला रहेका छन् ।
विभागका अनुसार यस अवधिमा मनास्लु आरोहणका लागि सर्वाधिक आरोहीहरुले अनुमति लिएका छन् । मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
हिमाल आरोहणका लागि अनुमति लिएका ११४ टिमबाट पाँच करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३०१ जनाबाट तीन करोड ४० लाख ३७ हजार ८२० रुपैयाँ रोयल्टी संकलन भएको हो ।
यस अवधिमा हिमलुङ हिमाल आरोहण्का लागि अनुमति लिएका १११ जनाबाट ३३ लाख ८६ हजार १७५ रुपैयाँ, अमाडब्लम आरोहणका लागि अनुमति लिएका १९८ जनाबाट एक करोड ५ लाख १५ हजार ४२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
Advertisment