काठमाडौं : एक वर्षमा लक्ष्मी स्टिलको व्यापार १० प्रतिशत भन्दा बढीले बढेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ९ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
सन् २०२२ को तुलनामा यस अवधिमा कम्पनीको व्यापार १०.५२ प्रतिशतले बढेको हो । जबकी सन् २०२२ मा कम्पनीले ८ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
आर्थिक मन्दीका कारण विकास निर्माणका कामहरु ठप्प छन् भने । अधिकांश क्षेत्रको व्यापार व्यवसाय सुस्ताएको छ । तर, लक्ष्मी स्टिलको व्यापारमा भने उल्लेख्य वृद्धि भएको हो ।
सन् २०१९ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको व्यापार गरेको लक्ष्मी स्टिलको व्यापार सन् २०२० मा आउँदा ३ अर्ब ८० करोड ७३ लाख रुपैयाँमा झरेको थियो । त्यसयता भने कम्पनीको व्यापार निरन्तर रुपमा बढेको देखिन्छ ।
लक्ष्मी स्टिलले सन् २०२१ मा ६ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सनु २०२२ मा ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यस अवधिमा कम्पनीले टीएमटी बारबाट ९४ प्रतिशत आम्दानी गरेको छ । सन् २०२२ मा कम्पनीले ८८ प्रतिशत डण्डीको व्यापार गरेको थियो । त्यसबाहेक बाँकी हिस्सा रिब्ड वायर, वाइन्डिङ वायर र अन्य रहेको कम्पनीले जनाएको छ ।
शौरभ ग्रुपको नामबाट सञ्चापलत यस कम्पनीले आइरन तथा स्टिल उत्पादन गर्दै आएको छ भने लक्ष्मी स्टिल ब्रान्डमा टीएमटी बार, रिब्ड वायर र वाइन्डिङ वायरको बिक्री वितरण गर्दै आएको छ ।
नेपालको स्टिल उद्योगमा क्षेत्रमा सन् २००८ मा स्थापना भएको कम्पनीमा न्यौपाने र अग्रवाल परिवारको स्वामित्व रहेको । न्यौपाने परिवारको ९ जना सदस्यसँग ५२ प्रतिशत र अग्रवाल परिवारको ५ जना सदस्यसँग ४५ प्रतिशत हिस्सा रहेको छ भने अध्यक्ष टिकाराम न्यौपाने रहेका छन् । शौरभ ग्रुप र न्यौपाने र अग्रवाल परिवार दुवै समूह नेपालका प्रतिष्ठित व्यापारिक घरानासँग सम्बन्धित छन् ।
वार्षिक २ लाख मेट्रिक टन टीएमटी बार र रिब्बड वायर उत्पादन गर्दै आएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९२ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि २२ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।
यसअघि कम्पनीले ६ अर्ब ६७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको थियो । हाल कम्पनीसँग स्पन्ज आइरन र आइरन स्क्र्याब प्रयोग गरेर बिलेट उत्पादन गर्ने क्षमता पनि रहेको छ
Advertisment