काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल निगमले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजी ३ अर्ब ७ करोड ५ लाख रुपैयाँको ४० प्रतिशतले हुन आउने एक अर्ब २३ करोड २० रुपैयाँ बराबरको एक करोड २३ लाख २०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात १२ लाख १६ हजार ५३८ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात ६ लाख ८ हजार ४० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।
त्यस्तै, कम्पनीले कर्मचारीहरुका लागि प्रतिशेयर १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी २२५ रुपैयाका दरले ६ लाख ८ हजार २८४ कित्ता शेयर छुट्याएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ पकित्ता शेयर बिक्री गरेको थियो । जसमा एक लाख ३४ हजार ५२० कित्ताका लागि मात्र स्थानीयले आवेदन दिएका थिए ।
बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर सर्वसाधारणका लागि अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज २८ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment