काठमाडौं : लगानीकर्ता संरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गरिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कोषको १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको हो ।
कार्यालयले राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा उक्त रकम एक वर्ष अवधिका लागि मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले असोज १४ गते सोमबार २ बजेभित्र रजिष्ट्रार कार्यालयको आर्थिक प्रशासन शाखामा प्राप्त हुने गरी आवश्यक विवरण पूर्ण रुपले उल्लेख गरी हालै प्रकाशित वित्तिय विवरणको प्रतिलिपि समेत संलग्न गरी गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ ।
तोकिएको दरभाउपत्रको मान्य अवधी कम्तीमा ३५ दिन हुनुपर्ने छ । यसरी पेश भएको सिलबन्दी दरभाउपत्रमा आधिकारीक हस्ताक्षर गरिएको हुनु पर्नेछ ।
मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक संचालनमा आएको कम्तिमा ५ बर्ष पुरा गरेको, लगातार पाँच बर्ष देखि मुनाफामा रहेको, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजी कोष कायम गरेको र निस्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमा भित्र भएको हुनुपर्नेछ ।
यसका साथै खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले समय–समय मा निर्धारण गरेको सिमा भित्र रहेको र राष्ट्र बैंकको कारवाहीमा परि समस्या ग्रस्त घोषणा नभएको हुनुपर्नेछ । समस्या ग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको एक बर्ष अवधि पुरा भएको हुनु पर्नेछ ।
यसका साथै सर्वसाधारणको लागि छुट्याएको शेयर जारी गरि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भएको हुनुपर्ने कार्यालयले जनाएको छ । न्यूनतम योग्यता पुरा गर्ने प्रस्तावदाताहरु मध्येबाट उच्चतम ब्याज दर प्रदान गर्ने एक वटा प्रस्तावदातालाई छनौट गरिने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बैंकले उच्चतम समान ब्याजदर प्रदान गर्ने बैंक एक भन्दा बढी भएमा प्रकाशित अन्य वित्तिय परिसूचकहरुलाई आधार मानेर उपयुक्त प्रस्तावदाता छनौट गरिने छ भने बैंकहरुबाट पेश हुन आएका प्रस्ताव पूर्ण वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कोषमा निहित रहनेछ ।
मुद्दती निक्षेप सम्झौताको अवधी एक वर्षको हुनेछ । तत्पश्चात कोषको सचिवालयले एक पटकको लागि बजार ब्याजदरको आधारमा सम्झौताको नविकरण गर्न सक्नेछ । विशेष अवस्था परेको खण्डमा बाहेक कोषले मुद्दती निक्षेपमा राखीएको रकम फिर्ता लिन चाहेमा एक महिना अगावै सम्बन्धीत बैंकलाई जानकारी गराई रकम फिर्ता लिन सक्नेछ ।
प्रस्ताव पेश गर्ने बैंकहरुले माथि उल्लेखित शर्त तथा नेपाल राष्ट्र बैंकबाट निर्धारित मापदण्ड पुरा गरेको व्यहोराको घोषणा शिलबन्दी प्रस्तावपत्र साथ पेश गर्नु पर्नेछ ।
Advertisment