काठमाडौं : नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत बुधबार सर्वसाधारणमा आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा १३ लाख ६५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भईरहेको छ । सो समेत पौष महिना सम्ममा संचालनमा आउने कम्पनीले जनाएको छ ।
यो कम्पनी संस्थापनको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेकोछ।अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ।
यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्गले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नुका साथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १६२.७५ करोड रहेकोमा सो लगानी मध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषी विकास बैंकको सहबित्तियकरणमा गरिएको छ।
यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषि हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेत लगायतका लगानीकर्ताहरुबाट लगानी जुटाईकोछ। यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोमा साधारण निष्काशन बाट रु १३.७५ करोड जुटाईने कम्पनीले जनाएको छ ।
Advertisment