Below Menu
Below Menu

‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’

‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’

आर्थिक मन्दीका कारण संकटमा रहेको नेपालको अर्थतन्त्रका बाह्य सुचकहरु सकारात्मक देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छ । तर, बाह्य सुचकहरु सकारात्मक देखिएपनि आन्तरिक दबाब भने कायमै छ । बढ्दो ब्याजदरका कारण व्यवसायीहरुले लगानी गर्न सकेका छैनन् । व्यवसाय ठप्प हुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन ।  प्रस्तुत छ, मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. चन्द्र मणिअधिकारीसँग वित्तीय पोष्टकी संम्वाददाता सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको अर्थतन्त्र कसैले संकटमा छ भन्छन्, कसैले सुधार भइसक्यो भनिरहेका छन्, समग्रमा हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ?

अहिले नेपालको अर्थतन्त्र केही पक्षमा सुधार भएको देखिएको हो । आन्तरिक पक्षमा सुधार भएको छैन । राष्ट्र बैंक र अर्थमन्त्रालयका तथ्याङ्कहरू हेर्दा वैदेशिक सञ्चिति बढेको देखिन्छ । वैदेशिक रोजगारमा जानेहरूको संख्या बढेका कारण यो बढेको हो । गत वर्ष हालसम्म कै सबैभन्दा बढी मान्छेहरू वैदेशिक रोजगारीमा गए । पहिले हुण्डीबाट पैसा आउने गथ्र्यो भने लकडाउनपछि बैंकिङ च्यानलबाट पैसा आयो यसले गर्दा पनि वैदेशिक सञ्चिति बढ्यो । यद्यपि त्यसमा गुणस्तर बढेको छैन । प्रतिव्यक्ति आय अझै कम छ।

अघिल्लो वर्ष सरकारले वाणिज्य र मौद्रिक नीति मार्फत आयातलाई खुम्च्यायो । कतिपय वस्तुहरूको आयातमा नै प्रतिबन्ध लगायो । यसले गर्दा पनि वैदेशिक मुद्राको बचत भयो । अहिले करिब १० महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्था छ । यो पर्याप्त हो । शोधनान्तर स्थिति र घाटामा रहेको चालु खाता पनि बचतमा आएको छ । यो दृष्टिकोणबाट हेर्यो भने अर्थतन्त्र सुध्रिएको देखिन्छ । यो भनेको पाखुराको दुखाई मात्र कम भएको हो । मुटु र फोक्सो भित्रको समस्या जिउँ को तिउँ छ । अझै गहिरिएर गएको छ ।

एकातिर आयात घट्यो अर्कोतिर आन्तरिक लगानी भएको छैन । काम गर्ने युवाशक्ति पलायन भएको छ । बाँदर आतंकले उत्पादन घटेको छ । विभिन्न ३४ जिल्लाहरूको जनसंख्या वृद्धिदर घटेर आएको छ । वैदेशिक रोजगरीमा धेरै पलायन हुन थालेपछि उत्पादन झन् घट्दै गएको छ ।

वैदेशिक लगानीको प्रतिवद्धता धेरै आईरहेको छ । तर, नेपालमा वास्तविक पैसा भित्रिएको छैन । राष्ट्र बैंकको खातामा प्रतिवद्धताको ३० देखि २५ प्रतिशत मात्रै लगानी आएको छ । सरकारले पुँजीगत खर्च नै कम छुट्टाएको छ भने खर्च झन् न्युन ५७ प्रतितश मात्र भएको छ । यो क्रम तीन दशकदेखि उस्तै छ ।

निजी क्षेत्रका लगानीकर्ता पनि उत्साहित छैनन् । बैंकहरुमा अहिले पैसा भएको जस्तो मात्र देखिएको छ । वास्तवमा भन्ने हो भने बैंकहरुसँग पैसा छैन । लगानी गर्न थालेभने एक महिनामा नै बैंकहरुसँग पैसा नहुने स्थिति हुन्छ । तसर्थ बैंकहरुले ब्याजदर घटाउन सकेका छैनन् ।

उत्पादन कम भएको छ, मान्छेहरुको आम्दानी कम छ, राजस्व कम उठेको छ । गत वर्ष अघिल्लो आवमा उठेको भन्दा पनि १५ प्रतिशत कम राजस्व उठेको छ । बजारमा अहिले किन्ने मान्छे कम छन् । उद्योग र पसलहरु बन्द हुँदैछन् । घरजग्गाको कारोबार चलेको छैन । यसले पनि राजस्व घटेको छ । स्टक मार्केट साविककोबाट झण्डै ५० प्रतिशत तल आएको छ । यी सबै सूचकहरुलाई नेपालको अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ ।

आर्थिक वृद्धिलाई एउटा सोलोमोलो हेर्दा आर्थिक परिसूचक मानिन्छ । आर्थिक वृद्धि बेस्सरी हुँदैमा र प्रतिव्यक्ति आय औसतमा बढेको देख्दैमा सबैलाई न्याय गर्दैन । परबाट हेर्दा केही सूचक बढेको देखिए पनि सकारात्मक छैनन् । 

गत वर्ष १.८६ प्रतिशतको वृद्धि भयो । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि गर्छु भनेको थियो । मुद्रास्फिति घटेको छैन । सरकारका अनुसार अहिले मूल्य ७.५७ प्रतिशत छ । तर, अहिले झण्डै पौने १० प्रतिशतको मूल्यवृद्धि छ । राष्ट्र बैंकले निकाल्ने मूल्यवृद्धिको सूचकमा धेरैजसो मूल्यहरु समेटिएका हुँदैनन् । निर्धारित मूल्य र बजारमा भएको खरिद मूल्य फरक छ । तसर्थ हाम्रो अर्थतन्त्र अहिले निकै नाजुक अवस्थामा छ । वैदेशिक र आन्तरिक ऋणको वाहव बढेर गएको छ ।

हामीलाई ऋणको बोझ बढ्दै छ । खरिद क्षमता कम भएको छ, बजारमा बिक्री कम छ, मान्छेहरुको आम्दानी छैन । केही सिमित व्यक्तिहरुसँग पैसा छ । पैसा हुनेले पनि भोलि के हुने हो भनेर असुरक्षित महसुस गरी मन फुकाएर खर्च गर्न सकेका छैनन् । मध्यम र तल्लो वर्गको हातमा पैसा छैन् ।

राष्ट्र बैंकका नीति नराम्रो होइनन् । उपयुक्त समयमा उपयुक्त तरिकाले हुन सकेको छैन । बैंकका नीति भन्दा पनि कार्यान्वयन पक्ष कमजोर छ ।

नेपालको अर्थतन्त्रमा यसअघि राष्ट्र बैंकले ल्याएको नीतिका कारण समस्या आएको धेरैको आरोप छ, त्यस्तो हो?

राष्ट्र बैंकले जुन बेला नीति लियो, त्यतिबेला लिएका नीतिहरु नराम्रा थिएनन् । तर, नीति कहिले लियो, कस्तो समयमा लियो र त्यसलाई पुनरावलोकन गर्यो की गरे नी भन्ने हो । सरकारले २०७७ चैतमा लकडाउन घोषणा गर्यो । लकडाउनले सबै ठप्प भयो । त्यसबेलाको आर्थिक वृद्धिदर नकारात्मक भएको थियो । विश्व परिवेशलाई हेरेर राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट दिनुपर्ने सुविधा र इन्सेन्टिभहरु दिनुपर्ने थियो तर, ढिला दियो ।

सरकारले सहुलियतदरमा ऋण र पुनरकर्जा दिएपछि अर्थतन्त्र चल्न थाल्यो । फेरी बाह्य युद्धका कारण विश्वमा खाद्यान्न र इन्धनमा संकट आयो । आर्थिक वृद्धिमा अनिश्चतता थपिएर आयो । उपभोग्य वस्तुहरुको आपुर्तिमा असर पर्यो । लकडाउनका बेला भएका समस्या सल्टिन नपाउँदै फेरी समस्याहरु थपिदै गए ।

विश्वमा धेरै केन्द्रीय बैंकहरुले मूल्यवृद्धि घटाउन ब्याजदर बढाउन थाले । तर, ती कुराहरुलाई राष्ट्र बैंकले समयमै हेरेर नियन्त्रण गर्नुपर्ने थियो र नीति लिनुपर्ने थियो । राष्ट्र बैंकले लिएका नीति औसतमा ठिकै थिए । तर, लिनुपर्ने बेलामा लिएन ।

चालु आवको मौद्रिक नीति आउँदा पनि विश्व परिवेशलाई मात्र हेरियो । नेपालको परिवेशलाई कम मात्रामा हेर्यो । अझै खुकुलो मौद्रिक नीति आउनुपर्ने थियो । वैदेशिक मुद्रा सञ्चितिलाई हेर्दा राम्रो स्थितिमा आईसकेका छौं भने त्यसलाई खर्च गर्ने र बैंकहरुले लगानी गर्ने स्थिति त बनाईदिनुपर्यो नी ।

राष्ट्र बैंकका नीति नराम्रो होइनन् । उपयुक्त समयमा उपयुक्र्त तरिकाले हुन सकेको छैन । बैंकका नीति भन्दा पनि कार्यान्वयन पक्ष कमजोर छ । बैंक तथा वित्तीय संस्थहरुको लगानी अनुत्पादनक क्षेत्रमा धेरै गइरहेको छ । त्यसको नतिजा आर्थिक वृद्धिमा पनि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कहाँ लगानी गरिरहेका छन् भनेर समयमै अनुगमन, नियमन र सुपरीवेक्षण गरेर उपयुक्त कदम चाल्नुपर्ने थियो । राष्ट्र बैैंक यो कुरामा चुकेको छ । 

यहाँ राजस्व विज्ञ पनि हुनुहुन्छ, चालू आर्थिक वर्षको लागि सरकारले लिएको राजस्वको लक्ष्य पुरा होला?

अहिले सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन् । आर्थिक वृद्धिको लक्ष्य गत वर्ष १.८६ प्रतिशतमा भयो । तर, अहिलेसम्म पनि हामी २ प्रतिशत भन्दा बढी पुँजीगत खर्च गर्न सकेका छैनौं । निजी र सामुदायिक क्षेत्रको लगानी बढ्ने बाटो पनि बनेका छैनन्, बैंकहबाट कर्जा लगानी पनि हुन सकेको छैन । नयाँ उद्योग पनि शुरु भएका छैनन् र पुराना उद्योग पनि विस्तार भएका छैनन् । लगानी कम भएका कारण आर्थिक वृद्धिको लक्ष्य पनि पुरा हुँदैन ।

एशियाली विकास बैंकले ४.१ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ । हामीसँग अझै साढे नौं महिना बाँकी भएको हुनाले यो ठिकै पनि होला । तर, हाम्रो गतिविधि र काम गराईको शैली हेर्दा आर्थिक वृद्धि त्यति हुन्छ की हुन्न भन्नेमा शंका छ । सरकारले मूल्यवृद्धि ६ प्रतिशतमा राख्छु भनेको छ । तर, अझै पनि ७ प्रतिशतको मूल्यवृद्धि छ । मूल्यवृद्धि घटाउनलाई के–के गर्नुपर्छ भन्ने कुरामा कुनै पहल लिईएको छैन ।

सरकारका आफ्नै संस्थाहरु नेपाल आयल निगम र विद्युत प्राधिकरणले पनि उनीहरुले दिने वस्तु तथा सेवाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ र त्यसमा मूल्य घटाउन सके भने समग्र अर्थतन्त्रलाई चलायमान बनाउन कति योगदान गर्छ भन्ने हिसाब गरेर सकेसम्म मूल्य कम गर्ने प्रयास पनि गरेका छैनन् ।

चालु खर्च त सजिलै होला तर, तीन वटै तहकोपूँजीगत खर्च हुने अवस्था छैन । यी सबै कुरा पुरा नभएपछि राजस्वको लक्ष्य पुरा हुँदैन । राजस्वको लक्ष्य पुरा गर्नलाई खर्च पुरा हुनुपर्यो । लगानी बढ्नुपर्यो, उपभोग बढ्नुपर्यो अनि मात्र राजस्व बढ्छ । राजस्व प्रशासन सुदृढ हुनुपर्यो, बक्यौता उठाउन सक्नुपर्यो र राजस्व जसले जति तिर्नुपर्ने हो क्षमता भएकासँग पुरा लिन सक्नुपर्यो । यो अवस्था पूर्ण रुपमा सिर्जना नगरेको सरकारले राजस्वको लक्ष्य पुरा गर्न धौ–धौ पर्छ ।

अवैध आयातका कारण भन्सार राजस्व घटिरहेको छ, भन्सार राजस्व बढाउनका लागि कसले के गर्नु पर्छ?

हाम्रा मुख्य विजनेश पार्टनर भारत र चीन हुन् । पहिले भारत मात्रै थियो पछि चीन थपियो । यी दुई देशको सिमानामा नियन्त्रण गर्न सकेका छैनौं । भारतसँग सिमाना नै खुला छ । सिमा सुरक्षाका लागि भनेर पाँच वटा एजेन्सीहरु बसेका छन् । भन्सार, प्रहरीको सिमा सुरक्षा, राजस्व अनुसन्धान विभाग र गुप्तचर विभाग छन् । यी सबै एजेन्सीहरुबीच समन्वय हुन सकेको छैन ।

खुला सिमानाका कारण पनि धेरै सामानहरु आयात भइरहेका छन् । यसका लागि सरकार नै सिमा नाकामा कडाई गर्न तयार हुनुपर्यो । बंगलादेशले जसरी नेपालले पनि भारतसँगको सिमालाई नियमन गर्नुपर्छ । दुई देश मिलेर नाकाको संख्या आवश्यकता अनुसार बढाएर व्यवस्थापन गर्नुपर्छ र बाँकी एजेन्सीहरु पनि सेटिङको खेलमा लाग्नु भएन ।

विदेशी लगानीको कुरा गर्ने हो भने प्रतिवद्धता धेरै हुन्छ भित्रिन कम भित्रिन्छ, यसो हुनुको कारण के देख्नुहुन्छ ?

हामी कहाँ प्राकृतिक, जलस्रोत, जडिबुटी लगायतका स्रोत धेरै छ । अन्य खालका सम्पदाहरु पनि धेरै छन् । पर्यटकीय र सौन्दर्यताको दृष्टिकोणबाट हेर्दा लगानी गर्ने सम्भावना धेरै छ । जसले लगानी गरेका छन् उनीहरुले राम्रो मुनाफा पनि लगेका छन् ।

पर्यात्त सम्भावनाहरु देखेर प्रतिवद्धता जनाउँछन् । तर, यहाँ प्रतिवद्धता अनुसारको लगानी ल्याउनका लागि सररकाले पनि पहल गर्दैन र परियोजना शुरु गर्ने बेलामा कर्मचारी प्रशासनले पनि आफ्नो लाभ खोज्छ । राजनीति गर्नेहरुले पनि त्यही र्याल चुहाउँछन् । अर्को कुरा लगानी गर्ने बेलामा पूर्वाधार बनेका हुँदैनन् । लगानी गर्नेले एक ठाउँमा मात्रै नभई धेरै ठाउँमा हेरिरहेका हुन्छन् । जंगलको बाघ र लगानी कर्ता सधैँ एक ठाउँमा बस्दैनन् । आफूलार्ई जहाँ प्रतिफल राम्रो हुन्छ । त्यहाँ हिडिराख्छन् । यस कारण प्रतिवद्धता जाहेर गर्छन् । परियोजना प्रस्तुत गर्छन् तर, यहाँ भएका विभिन्न अवरोध र अनिश्चत वातावरणको कारणले गर्दा प्रतिवद्धता अनुसारको लगानी आउँदैन । नीतिगत कुरामा धेरै असजिलो छैन । कार्यान्वयन, प्रक्रिया र व्यवस्थापनमा समस्या छ । एकद्धार प्रणाली लागु हुन सकेको छैन ।

उत्पादनमुखी अर्थतन्त्रमा जोड दिन खोजे पनि कार्यान्वयन पक्ष असाध्यै दयालाग्दो छ, पर्याप्त सम्भावना हुँदाहुँदै उत्पादन किन बढ्न नसकेको हो ?

वैदेशिक लगानीमा जुन जुन अवरोधहरु छन् । यसमा पनि त्यही कुरा आउँछन् । नेपालमा भएका उत्पादनमुखी उद्योगहरु चिनी मिल, जुट मिल लगायतका उत्पादनहरुलाई सिमित व्यवसायी र सरकारमा रहनेहरुले दोहोनो गाई बनाउन खोज्दा अहिले ती उद्योगहरु नचल्ने अवस्थामा छन् ।

अहिले विश्वमा नै तीन खालको ट्रेन्ड देखिएको छ । कृषिमा आधारित काम, उद्योगमा गर्ने काम र व्यापार गर्ने काम । कृषि गर्नेहरु सधैँ घाटामा गए । हरेक वर्षका बजेटमा कृषिमा कायापलट गछौं भनिएको छ । चीनले कृषिमा लाग्ने आयकर सबैमा छुट दिएको छ । भारतमा पनि कृषिमा आयकर लगाउन नसकेर छोडिसकेको छ । नेपालमा अनुदन दिने भनेर नीति बनाइन्छ । तर, अनुदान कागजमा प्रोजेक्ट बनाएर, अरुले गरेको कामको फोटो खिचेर राखेर प्रोजेक्ट पेश गरेर पहुँच भएकाले लिएको उदाहरण सरकारका दस्ताबेजमा छन् ।

कृषिमा फाइदा नभएपछि मान्छेहरु पलायन भए । कृषिमा का मगर्ने मान्छेहरुको बदलामा आवश्यक प्रविधिहरु दिन सकेको छैनौं । समयमा मल पाइदैन । पाएपनि गुणस्तर हुँदैन र मूल्य पनि महंगो छ । बिउजिन गुणस्तरको पाइदैन । यसले गर्दा मानिसहरुमा अनिश्चतता बढ्यो र उत्पादन बढ्न सकेन ।

कृषिमा लगानी गर्दा प्रतिफल पाउन चार वर्ष कुर्नुपर्ने, उद्योगमा लगानी गर्यो भने ६ महिनामा प्रतिफल पाइने र व्यापार गर्यो भने रातारात प्रतिफल पाइने भएपछि विश्वमा नै रियल स्टे«ट, शेयरबजार लगायतका अन्य कुराको विविधिकरणमा मान्छे बढी लागे । 

नेपालको अर्थतन्त्र सहि दिशामा ल्याउनका लागि के गर्नुपर्छ ?

सबैभन्दा पहिला सत्ता राजनीति सङ्लिनु पर्यो । अहिले पैसाले सत्ता चलाउन थालेका छन्  । पैसाले राजनीतिज्ञहरुलाई चलाउन थाल्यो । राष्ट्र निर्माणका लागि राजनीतिज्ञ र सत्ताले पैसाको व्यवस्थापन गर्नुपर्ने थियो । अहिले पैसाले सबैलाई चलाउन थाल्यो । मतियारहरुको अर्थतन्त्र निर्माण भयो ।

अहिले हरेक क्षेत्र अप्राकृतिक भएको छ । राजनीति पनि सिद्धान्त, मान्यता र दर्शन, पारदर्शिता, नियम कानुन र जिम्मेवारीमा आधारित प्राकृतिक हुनुपर्यो । अर्थनीतिले पनि पहिले तल्लो वर्ग, मध्यम वर्ग अनि माथिल्लो वर्गलाई हेर्नुपर्यो । तसर्थ सामाजिक, आर्थिक, जनसांख्यिक नीति सबै प्राकृतिक हुनुपर्यो । पैसाले सत्ता चलाउने होइन । सत्ता र राज्यले पैसाको उचित व्यवस्थापन गर्ने व्यवस्था पुनस्र्थापित गर्नुपर्यो

यसका साथै, कृषि, पशुपालन, खनिज उद्योग, पर्यटन र जलविद्युतका क्षेत्रहरु हाम्रा महत्वपूर्ण क्षेत्र हुन् । हाम्रो भविष्य यसैमा छ । यस कारण यी क्षेत्रहरुमा काम गर्नका लागि पहिले पानी अड्याउनुपर्यो अनि जनशक्तिलाई अड्याउनुपर्यो । कुन ठाउँमा के कस्ता सुविधाहरुको विकास गर्यो भने त्यहाँका युवाहरु अडिन्छन् भनेर सर्वेक्षण गर्नुपर्यो । अहिले देखिएका सामाजिक आर्थिक चरित्रहरुलाई सुधार गर्न सकिएन भने मुलुकको विकास हुँदैन ।

Advertisment

थप समाचार