Below Menu
Below Menu

अर्थतन्त्र सुध्रिएको छैन, आन्तरिक दबाब कायमै छः सिबिफिन 

अर्थतन्त्र सुध्रिएको छैन, आन्तरिक दबाब कायमै छः सिबिफिन 

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मुलुकको अर्थतन्त्र अझै संकटमा रहेको बताएको छ । मंगलबार सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफलमा यस्तो बताएको हो ।

सिबिफिनले समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा गभर्नरसँग छलफल गरेको हो ।

उक्त भेटघाट तथा छलफल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा केन्द्रित रहेको थियो ।

छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनिय सुधार भएको भएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराए ।

वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशिलता प्राप्त गर्ने विषयमा जोड दिँदै, अध्यक्ष गोल्यानले बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरे ।

त्यसैगरी अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नरसमक्ष हस्तान्तरण गरे ।

विगतमा छिमेकी राष्ट्रहरुको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावहरुको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे ।

त्यसैक्रममा गभर्नर महा प्रसाद अधिकारीले बाह्य परिसूचकहरुमा संतोषजनक सुधार देखिदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताए ।

राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भिर र जिम्मवार हुन आवश्यक रहेको औंल्याए ।

राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।

सिबिफिनले संस्थागतरुपमा समसामयिक विषयहरुमा आवश्यकता अनुसार छलफल तथा बहस चलाउँदै, अध्ययन एव. विश्लेषणका आधारमा महत्वपूर्ण सुझाव राख्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै गभर्नर अधिकारीले उल्लेखित सुझावहरुको विषयमा नेपाल राष्ट्र बैंकले समयानुकुल निर्णय लिने बताए ।

गभर्नरको कार्यकक्ष, नेपाल राष्ट्र बैंकमा सम्पन्न भएको उक्त छलफलमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुश प्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता रहेको थियो । 

Advertisment

थप समाचार