काठमाडौं : हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा सवा एक अर्बको सम्पत्ति बीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा कम्पनीहरुले ४५ हजार ८१५ बीमालेख बिक्री गरी एक अर्ब १६ करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको सोही अवधिको तुलनामा सम्पत्ति बीमा गर्नेको संख्या ९.७९ प्रतिशतले बढेको हो । आव २०७९/८० को साउन महिनामा कम्पनीहरुले ४३ हजार ५३८ बीमालेख बिक्री गरी एक अर्ब ६ करोड १७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए ।
प्रदेशगत तथ्यांक हेर्ने हो भने सम्पत्ति बीमा गर्नेमा सबैभन्दाबढी बागमती प्रदेशमा रहेका छन् । साउन महिनामा बागमती प्रदेशमा १८ हजार ५३८ बीमितले ७४ करोड ९ लाख रुपैयाँ बराबरको बीमा गरेका हुन् ।
त्यस्तै, कम्पनीहरुले कोशी प्रदेशमा ६ हजार ६१४ बीमालेख बिक्री गरी १४ करोड १५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यसैगरी, मधेश प्रदेशमा कम्पनीहरुले १० करोड ५२ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार चालु आवको साउन महिनामा कम्पनीहरुले गण्डकी प्रदेशमा ५ हजार २५९ बीमालेख बिक्री गरी ४ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् भने लुम्बिनी प्रदेशमा १० करोड ६७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
त्यसैगरी साउनमा कर्णाली प्रदेशका एक हजार ८१ बीमितले ६६ करोड ३७ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा गरेका छन् । सुदुरपश्चिम प्रदेशमा कम्पनीहरुले २ हजार ६०९ बीमालेख बिक्री गरी एक करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment