बुडोल सामुदायिकमा प्राधिकरणको सघन अनुगमन, सीईओ भन्छन्- ‘गहिराइमा पुगेर मिहिन अध्ययन भयो’

बुडोल सामुदायिकमा प्राधिकरणको सघन अनुगमन, सीईओ भन्छन्- ‘गहिराइमा पुगेर मिहिन अध्ययन भयो’

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. (बुडोल सामुदायिक साकोस) को सघन स्थलगत (अनसाइट) अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गरेको छ।

नेपाल राष्ट्र बैंकसहितको प्राधिकरणको टोलीले असोज ५ गतेदेखि ९ गतेसम्म पाँच दिन बुडोल सामुदायिक साकोसको विस्तृत अनुगमन तथा निरीक्षण गरेको हो।

प्राधिकरणका निर्देशक केशवराज भट्टराईको सुपरिवेक्षणमा भएको अनुगमनमा नेपाल राष्ट्र बैंकका अधिकृत सुमन राज डंगोल टोली प्रमुखका रूपमा सहभागी थिए। टोलीमा नेपाल राष्ट्र बैंकका प्रधान सहायक जयराज कोइराला र राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक रञ्जना खड्का पनि सहभागी थिए।


वित्तीयदेखि सुशासनसम्म मिहिन अध्ययन
अनुगमनका क्रममा प्राधिकरणबाट जारी मापदण्डको अधीनमा रही संस्थाले अवलम्बन गरेका विभिन्न वित्तीय तथा गैरवित्तीय व्यवस्थाको विस्तृत समीक्षा गरिएको संस्थाले जनाएको छ।

टोलीले वित्तीय स्रोत संकलन, ऋणको सीमा, वर्गीकरण तथा व्यवस्थापन, तरल सम्पत्ति, पूँजीकोष, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणालीलगायतका विषयमा अध्ययन गरेको थियो।

त्यस्तै, संस्थाको विनियमावली, आन्तरिक नीति तथा कार्यविधि, आर्थिक पारदर्शिता, कर्मचारी व्यवस्थापन, सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था तथा संस्थागत सुरक्षा प्रणालीलगायतका पक्षसमेत अनुगमनको दायरामा राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीले जानकारी दिए।

सीईओ ठकुरीका अनुसार टोलीले कागजी विवरणमा मात्रै सीमित नभई संस्थाका विभिन्न पक्षलाई गहिराइमा पुगेर मिहिन रूपमा अध्ययन तथा निरीक्षण गरेको थियो।

‘अनुगमनको पत्र पाउँदा नै उत्साहित थियौँ’
प्राधिकरणबाट अनुगमनका लागि पत्र प्राप्त भएदेखि नै आफूहरू (संस्था) उत्साहित रहेको प्रमुख कार्यकारी अधिकृत ठकुरीले बताए।

‘अनुगमनका लागि आउने पत्र प्राप्त भएपछि हामी उत्साहित भएका थियौँ। टोलीले संस्थाका हरेक पक्षलाई गहिराइमा पुगेर मिहिन ढंगले केलाउनुभयो,’ उनले भने, ‘हरेक दृष्टिकोणबाट प्रश्न उठाउँदै र शंकाको रूपमा हेरेर अध्ययन गर्नुभएको छ। हामीले यसलाई निकै सकारात्मक रूपमा लिएका छौँ।’

 

अनुगमनका क्रममा संस्थाका गतिविधिलाई विभिन्न कोणबाट परीक्षण गरिनु संस्थाको वास्तविक अवस्था पहिचान गर्न महत्वपूर्ण हुने उनले बताए। ‘कुनै विषयलाई शंका गरेर हेर्नु भनेको संस्था खराब छ भन्ने होइन। बरु त्यसबाट कमजोरी कहाँ छ, सुधार गर्नुपर्ने पक्ष के छन् र संस्थालाई अझ बलियो बनाउन के गर्नुपर्छ भन्ने पहिचान हुन्छ,’ ठकुरीले भने।

‘त्रुटि भेटिए सुधार गरेर जान्छौँ’

अनुगमनबाट प्राप्त सुझाव, निर्देशन र पृष्ठपोषणलाई संस्थाले सुधारको अवसरका रूपमा लिने उनले बताए।

‘अनुगमनले संस्थालाई अझ बलियो बनाउने विश्वास गरेका छौँ। यदि कुनै त्रुटि वा कमजोरी भेटिएको छ भने त्यसलाई सुधार गरेर जाने नै छौँ,’ उनले भने, ‘प्राधिकरणको सुझाव र निर्देशनलाई संस्थाको सुशासन, पारदर्शिता, जोखिम व्यवस्थापन र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण मार्गदर्शनका रूपमा लिएका छौँ।’

ठकुरीका अनुसार नियामक निकायको नियमित तथा प्रभावकारी अनुगमनले सहकारी संस्थाहरूलाई आफ्नो अभ्यास पुनरावलोकन गर्ने र जोखिम न्यूनीकरणका लागि आवश्यक सुधार गर्ने अवसरसमेत प्रदान गर्छ।

‘सहकारीबारे सकारात्मक बुझाइ लिएर फर्कनुभयो’

ठकुरीले अनुगमन टोलीले बुडोल साकोसका विषयमा सकारात्मक पक्षसमेत लिएर गएको आफूहरूले महसुस गरेको बताए।

‘सहकारीहरू नराम्रा मात्रै छन् भन्ने बुझाइ लिएर अनुगमन टोली फर्किएको छैन भन्ने हामीले बुझेका छौँ,’ उनले भने, ‘संस्थाका सकारात्मक अभ्यासहरू पनि हेर्नुभएको छ। साथै सुधार गर्नुपर्ने ठाउँ भए प्रतिवेदनमा पक्कै आउने नै छ । यो हाम्रो लागि महत्वपूर्ण कुरा हो।’ सहकारी क्षेत्रलाई नियमन, सुपरिवेक्षण र सुधारको प्रक्रियाबाट थप व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ। 

यसअघि २०८० सालमा पनि नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोलीले बुडोल सामुदायिक साकोसको सघन अनुगमन गरेको थियो।

प्राधिकरणको पछिल्लो अनुगमनबाट प्राप्त सुझाव तथा निर्देशनलाई कार्यान्वयन गर्दै संस्थागत सुशासन, पारदर्शिता, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बुडोल सामुदायिक साकोसले जनाएको छ।