Below Menu
Below Menu

घरजग्गा रजिस्ट्रेशनमा ४० प्रतिशत घट्यो राजस्व

घरजग्गा रजिस्ट्रेशनमा ४० प्रतिशत घट्यो राजस्व

काठमाडौं : आर्थिक मन्दीको असरका कारण बागमती प्रदेश सरकारले सङ्कलन गर्ने विभिन्न शीर्षकका राजस्व तथा दस्तुरमा गिरावट आएको छ । प्रदेश सरकारको राजस्वको मुख्य स्रोत नै घरजग्गा रजिस्ट्रेशन (मालपोत) र सवारीसाधन कर हो । दुबै शीर्षकमा गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा घरजग्गा रजिस्ट्रेशन शीर्षकअन्तर्गत अनुमानभन्दा ४० प्रतिशत कम राजस्व सङ्कलन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

घरजग्गा रजिस्ट्रेशन शीर्षकअन्तर्गत प्रदेश सरकारले सात अर्ब ८५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा पाँच अर्ब ४७ करोड मात्र प्राप्त भएको छ । प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत गत आवमा अनुमानभन्दा २५ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । उक्त शीर्षकमा सात अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा छ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

त्यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत आठ अर्ब २८ करोड प्राप्त हुने अनुमान गरेकामा ७५ प्रतिशत (छ अर्ब २५ करोड) आय सङ्कलन भएको छ । अन्तःशुल्क करबापत कूल अनुमानको ७० प्रतिशत आय सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त शीर्षकमा तीन अर्ब ५५ करोड राजस्व प्राप्त हुने अनुमान गरिएकामा दुई अर्ब १४ करोड  मात्र प्राप्त भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत कूल आठ अर्ब ४० करोड प्राप्त हुने अनुमान गरिएकामा सात अर्ब ३५ करोड प्राप्त भएको छ । स्थानीय तहबाट सङ्कलित प्राकृतिक स्रोत उत्खननबापतको करबापत एक अर्ब प्राप्त हुने अनुमान गरिएकोमा ६६ करोड करोड प्राप्त भएको छ ।

गत आवमा प्रदेश सरकारको कूल अनुमानित बजेटभन्दा राजस्व सङ्कलन र नगद मौज्दातसहितको आय भने बढी देखिन्छ । सो आर्थिक वर्षमा प्रदेश सरकारले कूल बजेटभन्दा अनुमानित आय करिब सात अर्ब बढी सङ्कलन गरेको कार्यालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा नगद मौज्दातमा ३१ अर्ब ९४ करोड प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ । विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन हुन नकसकेका कारण रकम फिर्ता भई प्रदेश सञ्चिती कोषमा सो रकम जम्मा भएकाले कूल आम्दानी अनुमानभन्दा छ अर्ब ८९ करोड बढी देखिएको हो ।

Advertisment

थप समाचार